काठमाडौं, मंसिर २५- कागेश्वरी मनोहरा नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख अर्थात् मंसिर ९ गतेदेखि २५ गतेसम्म मनाइएको लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत विभिन्न स्थानीय तहमा सन्देशमूलक कार्यक्रमको आयोजना गरिएको थियो ।
अभियान अन्तर्गत विभिन्न पालिकामा महिला बालबालिकाविरुद्ध हुने घरेलु हिंसा, जबरजस्त करणी, बालविवाह, बहुविवाहलगायत हिंसा न्यूनीकरणका उपाय तथा कानुनी प्रावधान सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
अभियान अन्तर्गत नगरपालिकाका सबै वडामा सन्देशमूलक कार्यक्रमको आयोजना गरिएको, लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी जनचेतना प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सबिना श्रेष्ठले बताइन् ।
नगरपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा वडा नम्बर-३ वडाअध्यक्ष राममणि पुडासैनीको प्रमुख आतिथ्य रहेको थियो । भने वडा नम्बर-८ का अध्यक्ष तथा नगर प्रवक्ता हरिभक्त पुडासैनी, शिक्षा शाखा प्रमुख तथा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, नगरसभा सदस्य, वडा सदस्यहरु, सामाजिक संघ-संस्था, पत्रकार तथा बिभिन्न संघ संस्था, नगर समाज, महिला समुह, युवा क्लब, टोल सुधार समाजका झन्डै २ सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पुडासैनीले बिगतका तुलनामा महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरण हुँदै आएको बताए । लैङ्गिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए । घटना घटेपछि त्यसको विरुद्धमा बोल्ने र घटना बाहिर ल्याउनुपर्नेमा उनले जोड दिए । त्यसो हुँदा घटना पिडितले न्याय पाउने र हिंसा कम हुनेमा विश्वास व्यक्त गरे ।
लैङ्गिक हिंसा दिवसको रुपमा मात्र नमनाएर अभियानको रुपमा मनाउनु पर्नेमा प्रमुख अतिथि पुडासैनीले बताए । साथै उनले समाज बदल्न र हिंसा कम गर्न आफुले आफ्नै घरबाट सुरु गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी महिलाहरुले सचेतनामुलक नाटक र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम स्थलमा महिला समुहले उत्पादन गरेका हस्तकला तथा अन्य सामाग्रीहरु प्रदर्शनमा राखेका थिए ।
यो पनि पढ्नुहोस्- कागेश्वरी मनोहरामा लैंगिक हिंसाविरुद्ध प्रभातफेरीसँगै भब्य कार्यक्रम