Hamro Sanchar

रविले क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित: शंकर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ९ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् ।

तर साझेदारमध्ये एक छविलाल जोशी पक्राउ परिसकेको र उनले दिने बयानका आधारमा अनसन्धान अगाडि बढ्ने उनले बताए ।

बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले रास्वपा र त्यसका सभापति लामिछानेले पनि अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताए । ‘अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ, यो कानुनी राज्यमाथिको उपहास हो,’ उनले भने, ‘कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’

‘जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित होइन’ उनले अगाडि भने ।

अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्नुपर्ने उनले बताए । एउटा कम्पनी खडा गरेर टेलिभिजन सञ्चालनका लागि प्राप्त गरेको समग्र पैसा ९झण्डै ६५ करोड० सहकारीमार्फत प्राप्त गरेको र सहकारीले कम्पनीमा लगानी गर्न नमिल्ने कानुन रहेको यो पक्षलाई बुझ्नुपर्छ’ पोखरेलले भने, ‘कानुन विपरीत सहकारीको पैसा ल्याएर टेलिभिजन सञ्चालन गर्नु अत्यन्त हानिकारक छ ।’
सामाजिक सञ्जालको विकासका कारण आम सञ्चार माध्यमहरु संकटमा रहेको बेला सहकारीको रकम दुरुपयोग गरेर महत्वाकांक्षाका साथ टेलिभिजन सञ्चालन गरेको प्रष्ट भइसकेको उनले बताए ।

रविको नाम नलिई उनले संकटमा पुर्‍याउने व्यक्तिले म निर्दोष छु, क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको समेत बताए ।


प्रतिकृया दिनुहोस्