
जनकपुरधाम । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजी सहित १० जना पक्राउ परेका छन् ।
सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका-२ का नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह, पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवसहित १० जना छन् । आकाश हनुमाननगर कंकालिनी नगरपालिका-८ का हुन् ।
यस्तै विराटनगर ३ का नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने, इटहरी २ का प्रदीप लिम्बू, राजविराज ७ का रवीन दास, तिरहुत २ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी-२ का जर्नादन राउत पनि पक्राउ परेका छन् ।
हनुमाननगर कंकालनी ५ का ओमशंकर प्रसैला, वडा १ का लक्ष्मण मण्डल र वडा ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको छ ।
बँदेल सिकार गरेको अवस्थामा हातहतियारसहित बुधबार राति २ बजे उनीहरु पक्राउ परेको र अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर थपअनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार २२ क्यालिबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउन्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक थान पनि बरामद भएको छ।
गोली हानेर मारिएको बँदेल, लोड गरिएको को. २ त.६९ नम्बरको ट्रयाक्टर र प्र ३ – ०१-०२२ च ६८५५ नम्बरको स्कार्पियोसमेत नियन्त्रणमा लिएको डीएसपी न्यौपानेले बताए।

















