काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनबारे चलेको हल्ला गलत भएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने”पार्टी फुट्ने हल्ला निराधार हो । पार्टीमा गरिएको आशङ्का र भ्रम पनि यो बैठकबाट चिरियो’, उनले भने, ‘कमरेड प्रभाकरले पार्टी फुटाउने भनेर भएको चर्चा आशङ्का गलत हो ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान केपी ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसद्मै बोल्ने पनि बताएका छन् ।
टीआरसी विधेयकका सवालमा प्रचण्डले अब शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको भन्दै लामो समय लगाएर विधेयकलाई पीडित मैत्री बनाउने प्रयास गरिएको बताएका छन्। ‘पीडित साथीहरूलाई ढुक्क रहन आग्रह गर्छु अब सबै मिलेर कार्यान्वयनमा लैजानुपर्छ । उनीहरूका लागि परिपूरण र सम्मान भएकाले कसैले पनि अन्यथा लिनुपर्ने छैन’, प्रचण्डको भनाइ छ ।