
काठमाडौं, बैशाख २७- कागेश्वरी मनोहरा नगरपालिकामा लागुपदार्थ दुर्व्यसन नियन्त्रण र न्युनिकरण गर्न नगरस्तरीय समिति गठन गरिएको छ । बुधबार नगरपालिकाको राधाकृष्ण मन्दिरमा एक कार्यक्रमकाबीच मेयर उपेन्द्र कार्कीको अध्यक्षतामा १७ सदस्यीय नगरस्तरीय समिति गठन भएको हो ।
लागु औषधको नियन्त्रण र रोकथाम सम्बन्धि कार्यक्रम संचालनका लागि स्थानीय तहको निर्देशिका बमोजिम गठन गरिएको समितिमा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, स्वास्थ्य शाखा प्रमुख तुलाजा भवानी लामा, शिक्षा शाखा प्रमुख गोबिन्द प्रसाद शर्मा, श्री गान्धी आदर्श माविका प्रधानाध्यापक गणेश चन्द, श्री आनन्द भैरव माविकी महिला प्रधानाध्यापक सरस्वती थापा कार्की, नार्कोनन नेपाल गैरसरकारी संस्थाका नगेन्द्र पौडेल, आमा समुह (महिला) मन्जु कुइँकेल, स्थानीय युवा क्लब सुरज थापा, स्थानीय बाल क्लब सारा कुँवर, स्थानीय संचारकर्मी प्रदिप नेपाली, निजी विद्यालयका प्रधानाध्यापक, पुन:स्थापना केन्द्र, गैर सरकारी संस्था (महिला), आमा समुह र स्थानीय प्रहरी इकाई प्रमुख सदस्य रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कार्कीले लागुऔषध प्रयोगकर्तालाई हेलाको दृष्टिकोणले हेरिएको र उनीहरु लागुऔषध प्रयोगको लतमा फस्नुकाे कारण खोजी नहुने गरेकाले आफूहरुको ध्यान अब त्यसतर्फ जाने बताए । यससम्बन्धी कार्यविधि बनाएर नै आफूहरु अघि बढ्ने उनले जानकारी दिए ।
“लागुऔषध प्रयोग नियण्त्रण तथा रोकथामको विषयमा मात्र चर्चा भएको पाइयो यसले मात्र समस्या समाधान हुँदैन भन्ने देखियो”, उनले भने । विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु गर्ने र लागुऔषधको प्रयोगमा फसेकाहरुलाई पुनःस्थापनामा जोड दिइने मेयर कार्कीले बताए । जानअन्जान तथा साथीभाइको लैलैमा लागेर प्रयोगकर्ता बनेकाहरुलाई लत छुटाउन नगरपालिकाले परिणाममुखी पहल थाल्ने उनको भनाइ थियो । बढ्दो लागुपदार्थका घटनाहरूले सामाजिक र पारिवारिक समस्या बढी रहेको उनले बताए ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत मिश्रले लागुऔषधको कुलतमा फस्ने किशोरकिशोरीको संख्या अधिक रहेकाले जोखिमयुक्त उमेर समूहका सबैमा यो कार्यक्रम पुर्याइने बताए । लागुऔषध प्रयोगको समस्या जटिल समस्या बन्दै गएकाले यसको नियन्त्रणका लागि नगरपालिका लागि पर्ने उनले बताए ।
नगरपालिकाको स्वास्थ्य शाखाले लागु पदार्थ दुर्व्य नियन्त्रण रोकथाम सम्बन्धि सचेतनामुलक कार्यक्रम तथा कार्य योजना गोष्टी गरेको थियो । उक्त कार्यक्रमलाई नार्कोनन नेपालका प्रमुख बसन्त राज कुँवर र नगेन्द्र पौडेलले सहजीकरण गरेका थिए । उनीहरुले लागु पदार्थ दुर्व्य नियन्त्रण रोकथामका उपाय, हेल्प डेस्क संचालन, हटलाइन टेलिफोन संचालन, समुदाय र जिम्मेवार व्यक्तिले निभाउनु पर्ने भूमिकाका बिषयमा प्रशिक्षण दिएका थिए ।
नार्कोनन नेपालका प्रमुख कुँवरले नगरपालिकासँग मिलेर लागु औषध नियन्त्रणमा सहकार्य गर्न प्रस्ताब राखेका थिए ।




















