Hamro Sanchar

डा. भट्टले निगमको जिम्मेवारी सम्हाले सँगै पेट्रोलियम भण्डारण गृह निर्माण सुरू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ५ गते


Advertisement

बुटवल, वैशाख ५- नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भए सँगै नेपालमा पेट्रोलियम भण्डारण गृहको निर्माण कार्य सुरू भएको छ । निगमको प्रवन्ध निर्देशक नियुक्त भएको ३ महिना नबित्दै उनले नेपालमा  पेट्रोलियम भण्डारण गृहको निर्माण कार्य सुरु गरेका हुन । उनि २०८० साल फागुन ६ गए नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए ।  यो सँगै भैरहवा–परासी सडक खण्डमा पर्ने रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माण सुरू भएको छ ।

रुपन्देहीको तिलोत्तमा–७ भलबारीमा रहेको प्रादेशिक डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले नयाँ स्थानमा भण्डारण गृह बनाउन थालिएको हो ।

निगमले करिब १४ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागेको हो । नयाँ भण्डारण गृहको १४ बिघा क्षेत्रफलमध्ये ७० प्रतिशत ओमसतिया र ३० प्रतिशत जग्गा रोहिणी गाउँपालिकामा पर्छ ।

एक औपचारिक कार्यक्रमबीच ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जीतकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा बुधबार निर्माण कार्यको शुभारम्भ गरेका हुन् । दुवै अध्यक्षले भण्डारण गृह निर्माण तथा सञ्चालनमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले विगतमा जग्गा सम्बन्धी केही विवाद देखिएकोमा संसदीय समिति र अख्तियारबाट विवाद समाधान भई बजेट पनि पारित भएर टेण्डर प्रक्रियामा गएको बताए । ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको भण्डारण गृहले लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने यादवले बताए ।

यो भण्डारण गृहमा डिजेल ६३ सय किलोलिटर, पेट्रोल ३२ सय किलोलिटर तथा मट्टितेल २१ सय किलोलिटर भण्डारण गर्न सकिने छ । डिजेल भण्डारका लागि २१ सय किलोलिटरका तीन वटा, पेट्रोल भण्डारणका लागि १६ सय किलो लिटरका दुई वटा र मट्टितेल भण्डारणका लागि ७ सय किलोलिटरका तीन वटा ट्यांक निर्माण गरिने उनले बताए ।

आगामी असारसम्म तटबन्ध लगाउने र जमिन पुर्ने काम सम्पन्न गरिने जानकारी दिंदै संयोजक यादवले दुई वर्षभित्र निर्माण सम्पन्न गरी हालको भलबारी डिपो सो स्थानमा सर्ने बताए । यादवले भने, ‘आगामी मंसिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’

निगमका प्रबन्धक रामहरि निरौलाले भण्डारण गृहका लागि थप ७ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताए । भविष्यमा भारतीय आयल कर्पोरेसनसँगको सहकार्यमा भण्डारण गृहसँगै प्राकृतिक ग्यासबाट रासायिनक मल उत्पादन कारखाना पनि स्थापना गर्ने लक्ष्य रहेको निरौलाले बताए ।


प्रतिकृया दिनुहोस्