Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

त्यागी र निष्ठावानको छवि बनाएका काँग्रेस नेता पौडेलको निधन

रासस प्रकाशित : २०८१ बैशाख, १ गते


Advertisement

नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारका क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो । उनी त्यागी र निष्ठावान् राजनीतिज्ञ एवं सामाजिक व्यक्तित्वका रूपमा परिचित थिए ।

कास्कीको तत्कालीन पुम्दीभुम्दी गाविस हाल पोखरा महानगरपालिका–२२ पुम्दीमा बस्दै आएका पौडेल विद्यार्थी कालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सहभागी थिए । उनका पत्नी, दुई छोरा र दुई छोरी छन् ।

पौडेलको आजै सेती नदी घाटमा अन्त्येष्टि गरिने र अन्त्येष्टिअघि पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने छ । उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी भएका थिए ।

त्यसयता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहेका पौडेल कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति बनेका थिए।

लामो समय राजनीतिमा खटिए पनि लाभको पद नलिएका पौडेल तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराईसँग पराजित भएका थिए ।

नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगरसमिति र विभिन्न एकाइले पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।


प्रतिकृया दिनुहोस्