काठमाडौं, चैत २७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूवात शेरबहादुर देउवा गृहमन्त्री हुँदा भएको आरोप लगाएका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘ललिता निवासको सुरूवाती त अहिलेका विपक्षी दलका सभापति गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरू भएको हो’ डा. वाग्लेले भने ।
ललिता निवासदेखि वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा नेताहरूलाई जोगाइएको उनको भनाइ छ । आफूहरूले २०४७ साल यताका सबै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको माग गर्दै आएको उनले बताए ।
उपसभापति वाग्लेले भने, ‘ललिता निवास काण्डदेखि वाइडबडी काण्डसम्म यहाँ को–कोलाई जोगाइएको छ । यो सारा फेहरिस्तको छानबिन गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको आह्वान गर्दछ ।’
कुनै आरोपका भरमा कुनै पात्रलाई खुइल्याउने उद्देश्यले छानबिनको माग गर्नु उचित नरहेको उनको भनाइ छ । नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ ।