Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पक्राउ पर्नेबित्तिकै अस्पताल भर्ना हुने प्रवृत्ति बढ्यो, कार्यविधि बनाउँदै काउन्सिल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १७ गते


Advertisement

काठमाडौँ, चैत १७- प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका व्यक्ति अनुसन्धानकै क्रममा अस्पताल भर्ना हुने क्रम बढेपछि त्यसबारे कार्यविधि नै तर्जुमा गर्न लागिएको छ । विभिन्न आरोपमा पक्राउ भएका व्यक्तिले स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि नेपाल मेडिकल काउन्सिलले त्यससम्बन्धी कार्यविधि तर्जुमा गर्ने भएको हो ।

गत माघमा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरी पक्राउ पर्नेबित्तिकै चिरायु अस्पताल भर्ना भएका थिए। सुरुमा चिरायु अस्पताल भर्ना गरिएकोमा पछि उनलाई ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । त्यहीँबाट नै प्रहरीले थप अनुसन्धान गरेको थियो । उद्योगी चौधरीलाई हिरासतमुक्त हुनेबित्तिकै थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

यस्तै सुन तस्करीको अभियोगमा चैतको पहिलो साता पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि अस्पतालमा राखेर नै थप अनुसन्धान गरियो । उनले आफू अस्वस्थ रहेको भनी अदालतसमक्ष निवेदन गरेकाले अदालतको आदेशमा नै प्रहरीले नर्भिक अस्पतालमा राखेर थप अनुसन्धान गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले)का नेता तथा सांसद टोपबहादुर रायमाझी पनि पक्राउ परेपछि अस्पताल भर्ना भएका थिए । हालै अनेरास्ववियु स्थायी कमिटी सदस्य रश्मि बमलाई पनि पक्राउपछि स्वास्थ्यको समस्या देखाउँदै अस्पताल भर्ना गरिएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।


प्रतिकृया दिनुहोस्