
दोलखा, चैत १३- दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर-१ को रमाइलो चोकमा अस्थायी प्रहरी चौकी स्थापना हुने भएको छ ।
वडाका स्थानीय समुदायलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दोलखाको सहयोग र समन्वयमा अस्थायी प्रहरी चौकी स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङले हाम्रोसंचारलाई जानकारी दिए ।
अस्थायी प्रहरी चौकीमा प्रहरी हवलदारको नेतृत्वमा कम्तिमा ७ जनाको टोली रहने छन् । तर आवश्यकताअनुसार प्रहरीको संख्या बढ्न सक्ने पनि बताइएको छ ।
पछिल्लो समय वडामा चोरी, डकैति र अनैतिक क्रियाकलाप बढ्न थालेपछि निरन्तरको पहल पश्चात् तत्काल अस्थायी प्रहरी चौकी स्थापना गर्ने सहमति भएको गाउँपालिका अध्यक्ष तामाङले बताए ।
खासगरी गाउँका जेष्ठ नागरिकले सबैभन्दा असुरक्षित महसुस गरेको पटक-पटक प्रहरी चौकी स्थापनाका लागि अनुरोध गरेपछि गृह मन्त्रालयमा अनुरोध गर्दा प्रहरी चौकी स्थापना हुने भएको गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले बताइन् । यसले अलिकति भएपनि नागरिकमा खुसी थपिएको र शान्ति सुरक्षा कायम गर्न सहज हुने, आपराधिक क्रियाकलापमा कमी आउने विश्वास गरिएको गाउँपालिका उपाध्यक्ष आचार्यको भनाई छ ।


















