Hamro Sanchar

महिलालाई आत्मनिर्भर बनाउने ‘दिदी फाउन्डेसन’: यसरी भए कागेश्वरीका ७ हजार महिला लाभान्वित

प्रदिप नेपाली प्रकाशित : २०८० चैत्र, १२ गते


काठमाडौं, चैत १०- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ बस्ने संगीता श्रेष्ठले १२ कक्षा पास गरेकी छन् । जागिर छैन । तर, उनी आत्मनिर्भर छिन् । दिदी फाउन्डेसनले उनलाई आत्मनिर्भर बनाइदिएको छ ।

‘संस्थामा आबद्ध भइसकेपछि बेसिक र एडभान्स गरेर ९ महिना सिलाइकटाइ सिकेँ । महिलाले लगाउने विभिन्न डिजाइनका कपडा बनाउन जान्ने भएँ । १ वर्षदेखि यही काम जीवन धान्ने माध्यम बनेको छ,’ उनले भनिन्, ‘सीप जानिसकेपछि सामग्री तयार गर्न समय लाग्दैन रहेछ । अहिले विभिन्न स्टाइलका कपडाहरु तयार गर्ने गर्छु । संस्थाले पनि विश्वास गरेको छ ।’

संगीता जस्तै अन्य धेरै महिलाले यस्ता काम गरिरहेका छन् । संस्थामा आबद्ध भइसकेपछि नयाँ नयाँ कामहरु सिक्न पाइने गरेको संगीताको भनाइ छ । ‘फुर्सदिलो भएर घरमा बसिरहनुभन्दा सीप सिकेपछि आत्मनिर्भर भइएको छ । घर चलाउन सहज भएको छ,’ उनले भनिन्, ‘पहिला काम गर्न जान्दिन कि भन्ने लागेको थियो । तर अब अभ्यस्त भइसकेँ ।’

संगीतालाई आत्मनिर्भर बनाउने श्रेय ‘दिदी फाउन्डेसन’लाई जान्छ । एक लाख लगानीबाट सुरु गरेको उनको ब्यबसाय अहिले झन्डै ८ लाखको पुगिसकेको छ ।

फाउन्डेसनकी संस्थापक अध्यक्ष लक्ष्मी कोइरालाकाअनुसार १० बर्ष अघि नेपाली महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो संस्था स्थापना गरिएको हो । स्थापना पश्चात धेरै महिला सीप सिकेर आत्मनिर्भर भइसकेका छन् । कोहिले लेडिज टेलर्स खोलेका छन् । कसैले ब्युटीपार्लर, कसैले होटल ब्यबसाय गरेका छन् । कोहि कम्प्युटर कोर्ष सिकेर सरकारी र गैरसरकारी संस्थामा जागिर खाएका छन् ।

संस्थाको कार्यालय कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ६ स्थित लक्ष्मीनारायण चोकमा छ । यहि संस्थाले नगरपालिका भित्र बसोबास गर्ने महिलाहरुलाई समेटेर महिला सशक्तिकरणका लागि शिक्षा र स्वास्थ्यमा आधारित कामहरु गर्ने गरेको छ । संस्थालाइ नगरपालिकाले आवश्यक सहयोग गरेको छ । बिशेषगरी संस्थामा नगरपालिकाका ४,५,६,७,८ र ९ नम्बर वडाभित्र बसोबास गर्ने महिलाहरु सीप सिक्न आउने गरेका छन् ।

फाउन्डेसनका कार्यकारी निर्देशक दिपक अछामीकाअनुसार फाउन्डेसन नितान्त महिलाहरूलाई सामाजिक रूपमा सचेत गराउने, आत्मनिर्भर महिला उत्पादन गर्ने उदेश्यले संस्था खोलिएको हो । फाउन्डेसनले ब्युटीपार्लर ट्रेनिङ, कुकिङ कक्षा संचालन, कम्प्युटर कक्षा, सिलाइकटाइ, प्रौढ साक्षरता कक्षा, अंग्रेजी सिकाईलगायत कक्षा संचालन गरेर महिलाहरुलाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ । यी सबै कक्षा नि:शुल्क संचालन हुने गरेका छन् ।

‘महिलाहरूलाई तालिम प्रदान गर्ने र उनीहरूलाई सुरक्षित रूपमा काम गर्ने अवसर प्रदान गर्ने संस्थाको लक्ष्य छ,’ निर्देशक अछामीले भने, संस्थाको मुख्य उद्देश्य स्थानीय नेपाली महिलाहरूलाई सम्मानित, सीपमा आधारित रोजगारीको बाटो खोजिदिने हो । अवसरहरू उपलब्ध गराउने हो ।’

दश बर्षको अवधिमा सात हजारभन्दा बढी आत्मनिर्भर महिला उत्पादन गरिसकेको संस्थामा हाल २७ जना कर्मचारी कार्यरत छन् । आधुनिक प्रविधिको समयमा धेरै नपढेका, प्राविधिक ज्ञान नभएका महिलाहरुलाई सीपमुलक कक्षा संचालन गरेर आम्दानीको बाटो खोज्ने प्रयास गरेको फाउन्डेसनकी अध्यक्ष ज्योति कोइरालाको भनाइ छ । ‘प्रायः महिलाको स्वामित्वमा निजी सम्पत्ति हुँदैन । जसले गर्दा महिलाले हरेक कामका लागि पुरुषहरूमा निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था छ’, अध्यक्ष कोइरालाले भनिन्, ‘बेरोजगार पुरुष कामका लागि खाडी मुलुकतिर जाने र महिला परम्परागत कृषि तथा घरायसी काममा नै सीमित हुनुपर्ने अवस्था छ । उनीहरूको ऊर्जा त्यसै खेर गइरहेको बेला यस्ता सानातिना सहयोगले पनि राहत दिन्छ ।’ उनले राज्यले नै महिलामुखि नीतिनिर्माण गरी पेसा र व्यवसायसँग जोड्ने योजना तर्जुमाको खाँचो औँल्याइन् ।

उनका अनुसार हाल संस्थामा अंग्रेजी सिकाइ कक्षामा १५ जना, साक्षरता कक्षामा ४० जना, कुक सम्बन्धि तालिममा १५ जना, सिलाइकटाइ १६ जना, ब्युटीपार्लर कक्षा १५, बेकरीमा १५ जना प्रसिक्षार्थी छन् ।

फाउन्डेसनले तालिम मात्र प्रदान गर्दैन । फाउन्डेसनले दिदि बचत तथा ऋण सहकारी संस्था पनि संचालन गरेको छ । तालिम प्राप्त गरिसकेका महिलाहरुलाई आत्मनिर्भर बन्न र ब्यबसाय संचालन गर्न सोहि सहकारीबाट न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउदै आएको छ । धेरै महिला दिदीबहिनीहरु यसै संस्थाबाट सीप सिकेर सहकारीबाट ऋण झिकेर ब्यबसाय गरिरहेका छन् । दलित, विपन्न र उपेक्षित समुदायका महिलाले सानो काम गर्दा पनि ऋणको भारी बोक्नुपर्ने विवशताको अन्त्यका लागि यस अभियानले सघाउ पुर्‍याइरहेको छ ।

संस्थाले विल्डिङको सटरमा बेकरी संचालन गरेको छ । बेकरी पनि राम्रो चल्छ । सोहि बेकरीबाट संस्थामा कार्यरत कर्मचारीहरुको सेवा सुबिधा र तलब दिन पुग्छ । हाल सिलाइबुनाइका माध्यमबाट पुन:प्रयोग गर्न मिल्ने सेनिटरी प्याड तयार गरेको छ । त्यसको बिक्रिवितरण गर्ने र त्यसपश्चात् केहि थान विद्यालय र सामाजिक संस्थालाई प्रदान गर्ने योजना छ ।

हालैमात्र संस्थाले दिदि सामुदायिक सिकाई केन्द्र दर्ता गरेर विभिन्न सिकाइका कार्यक्रमहरु संचालन गर्ने तयारी गरिरहेको छ । संस्थाले सीप सिकाउनुको अलावा रोजगारीको बाटो पनि खोजिरहेको छ ।

संस्थाले अन्य सामाजिक कार्यमा पनि हातेमालो गर्दै आइरहेको छ । जसअनुसार संस्थाले केहि समय अघि ३ वटा विद्यालयलाई शैक्षिक सामाग्री, गरिब र बिपन्न विद्यार्थीहरुलाई पोशाक वितरण गरेको थियो । भने रामेछापको एक विद्यालयमा आफ्नै लगानीमा एक अंग्रेजी बिषय शिक्षक ब्यबस्थापन गरिदिएको छ ।

महिलाहरू आत्मनिर्भर हुँदा आत्मसम्मानमा वृद्धि हुनुका साथै पारिवारिक तथा व्यक्तिगत जीवनस्तरमा समेत सुधार भई सशक्तिकरणमा उल्लेख्य टेवा पुग्ने हुन्छ । त्यसैले स्थानीय तह वा यस्ता सामाजिक संघ संस्थाले महिला लक्षित उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम अगाडि सार्नुपर्नेमा महिला तथा सरोकारवालाहरूको जोड छ ।


प्रतिकृया दिनुहोस्