काठमाडौं, चैत ८- नेपाली कांग्रेसका सांसद विनोद चौधरी बाँसबारी जग्गा प्रकरणमा बयान दिन जिल्ला सरकारी वकिल कार्यालयमा पुगेका छन् ।
बिहिबार बिहानदेखि कार्यालय प्रमुख सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा बयान सुरु भएकाे हाे ।
उनी सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भएका थिए ।
यसअघि सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।
त्यसलगत्तै बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा उनको बयान लिन थालिएको हो ।
बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता भएको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा स्वामित्व हस्तान्तरण भएको विषयमा अनुसन्धान थालिएको थियो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरीलाई ब्युरोले माघ १८ मा पक्राउ गरेको थियो । उनी सांसद विनोद चौधरीका कान्छो भाइ हुन् । जिल्ला अदालत काठमाडौँको आदेशमा अरुण ‘हाजिर जमानी’मा रिहा भएका छन् ।