Hamro Sanchar

तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन रोक्न सुरक्षा अधिकारीलाई गृहमन्त्रीकाे निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २ गते


Advertisement

काठमाडौं, चैत २- गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । बिहीबार साँझ गृह मन्त्रालयबाट ‘भर्चुअल’ रूपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताए ।

‘गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन, गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै गर्नुपर्छ’, उनले भने, ‘गृहमन्त्रीका रूपमा नागरिकका पक्षमा, आशा जगाउने गरी काम गर्नेछु ।’

उनले सरुवा–बढुवाका लागि दबाब दिने तथा गल्ती गर्दा बचाउन सिफारिस गर्ने विद्यमान प्रवृत्ति कुनै पनि हालतमा स्वीकार नगर्ने बताए । ‘अमुक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ उसलाई चाहीँ कारबाही गर्छु’, उनले भने । उनले दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिनेगरी काम गर्न निर्देश गरे ।

अबको तीन महिनाभित्र गृह मन्त्रालयका हरेक सूचक सकारात्मक हुनुपर्नेमा जोड दिँदै गृहमन्त्री लामिछानेले काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेलाई कारबाही गर्ने चेतावनी दिए ।

मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिएका थिए ।


प्रतिकृया दिनुहोस्