
काठमाडौँ, चैत १- होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय हिरन राई रहेका छन् । उनलाई बुधबार मानव बेचबिखन तथा ओसारपसार ब्युरोले पक्राउ गरेको हो । ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार गोकर्णेश्वर नगरपालिका-५ शिवचोकमा उनले कालिञ्चोक स्टाफ होटल तथा खाजा घर सञ्चालन गरिरहेका थिए ।
फुयाँलका अनुसार उक्त होटलबाट दुई जना नाबालिकालाई उद्धार गरिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार राईले आर्थिक अवस्था कमजोर भएका नाबालिकालाई होटलमा ल्याउने गरेका थिए ।
ग्रामीण भेगका ती नाबालिका कम पढेलेखेका हुन्थे । उनले खाजा घरमा ल्याएर सरसफाइको काम लगाइदिने, आकर्षक तलब-सुविधा दिन्छु भन्ने गरेका थिए । ‘सुरूमा सफाइको काममै लगाउँथे, पछि फकाएर खाजा घरमा आएका ग्राहकसँग मादक पदार्थ सेवन गराउँथे,’ ब्युरो प्रवक्ता फुयाँल भन्छन्, ‘ग्राहकहरूसँगै खाने-बस्ने र बढी बिल उठाउने काममा लगाउने गरेको खुलेको छ।’
राईले खाजा घरमा आउने ग्राहकलाई बालिकाहरू रोज्न लगाउँथे । रोजेकी बालिकालाई शारीरिक सम्पर्क राख्न दबाब दिन्थे । ‘बालिकाहरूलाई खाजा घरमा कोठा निर्माण गरी सोही स्थानमा र ग्राहकको माग तथा परिस्थिति अनुसार पहिल्यै रकम लिई अन्यत्र समेत बेश्यावृत्तिका लागि पठाई आर्थिक लाभ खाजा घर सञ्चालकले लिने गरेको खुल्न आएको छ,’ फुयाँलले भने ।
यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको उनले बताए । राईलाई अदालतबाट हिरासतमा राख्न अनुमति लिई अनुसन्धान थालिएको छ ।