काठमाडौँ, चैत १- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरी र आफूबीच पार्टीगत रुपमा विचार नमिलेको बताएकी छिन् ।
बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले पार्टी र परिवार छुट्टै कुरा भएको भन्दै पार्टीका संस्थापक तथा आफ्ना श्रीमान रेशम चौधरीसँग पार्टीगत रुपमा विचार नमिलेको बताएकी हुन् ।
उनले आफू मन्त्रि बन्नका लागि विश्वासको मत दिएको भन्ने कुरा गलत भएको टिप्पणी गरिन् । ‘मन्त्री खानको लागि विश्वासको मत दिएको भए त मन्त्री भइसकेपछि विश्वासको मत दिन्थेँ होला नि । मन्त्रि हुनुभन्दा अगाडी नै दिएको छु । मन्त्री पाउनका लागि विश्वासको मत दिएको होइन ।’ उनले भनिन् ।
रेशम चौधरीलाई महाधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष बनाएपछि निर्वाचन आयोगले नमानेको भन्दै सो कुरा रेशम आफूले पनि स्वीकार गरेको उनको भनाइ थियो ।
‘रेशम पार्टीको संस्थापक र जन्मदाता हुनुहुन्छ । पार्टीको महाधिवेशन गरेर उहाँलाई सर्वसम्मत् रुपमा अध्यक्ष स्वीकारेको पनि हो । त्यसपश्चात जुन निर्वाचन आयोगले आफ्नो निर्णय दिनुभयो । त्यसमा पनि रेशमजीले स्वीकारिसक्नु भएको छ । किनभने विधि, विधान कानुनभन्दा माथि कोहीपनि हुँदैन । रेशमजीले कानुनलाई स्वीकार गरेर जुन निर्वाचन आयोगले जुन अस्वीकार गरेको । परिवार फुट्दैन । म आफुसँगै छु नि स्टाटस लेख्दा । पार्टीगत रुपमा हाम्रो मत फरक हो ।’ उनले भनिन् । उनले राजनीतिक कारणले आफ्नो परिवारमा कुनै समस्या पैदा नहुने उल्लेख गरिन् ।