काठमाडौं,फागुन ३- नेकपा माओवादी केन्द्र १ सय ९९ सदस्यीय हुने भएको छ ।
काठमाडौंमा जारी विधान अधिवेशनमा प्रतिनिधिहरूले पठाएको सुझावको जवाफ दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १ सय ९९ केन्द्रीय समिति बनाउने र ती सबैको प्रत्यक्ष निर्वाचन गरिने बताएका हुन् ।
उपाध्यक्ष पम्फा भूसालको नेतृत्वमा बनेको विधान मस्यौदा समितिले १५१ सदस्यीय केन्द्रीय समिति बनाउन सिफारिस गरेको थियो । केन्द्रीय सदस्यको एक तिहाइ स्थायी कमिटी र ११ जनाको केन्द्रीय कार्यालय बनाउने जानकारी पनि प्रचण्डले बैठकलाई गराएका छन् ।
उक्त कार्यालय टिम पदाधिकारी सरह हुने भनिएपछि अरू पदाधिकारी रहने या नरहने भन्नेबारे प्रचण्डले खुलाएनन् । बैठकमा पार्टीको नाम र चुनाव चिह्न पनि फेर्ने प्रस्ताव आएको थियो तर प्रचण्डले अहिले नाम र चुनाव चिह्न भने परिवर्तन नहुने जानकारी गराएका छन् ।
काठमाडौंमा मंगलबारदेखि सुरू भएको विधान सम्मेलन बिहीबार सकिँदैछ ।