Hamro Sanchar

मेयर कार्कीले एकैदिन गरे नगरपालिकाका ३ वडाको स्थलगत अनुगमन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, २५ गते


काठमाडौं, माघ २५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले एकैदिन नगरपालिकाका ३ वटा वडाको स्थलगत अनुगमन गरेका छन् ।

मेयर कार्कीले बिहिबार नगरपालिकाको वडा नम्बर ७ अन्तर्गत मुखिया गाँउ, शिवम मार्ग, तखा टोल, समाबेशी टोल, सुनौलो बस्ती, वडा नम्बर ८ अन्तर्गत कालु दाईको पसल, बिरभद्र क्लब, चिप्लेगौँडा सडक, तेजबिनायक प्रतिष्ठान हुदै बागमति कोरिडोर र वडा नम्बर ९ अन्तर्गत माहानटार र्याडर सडक, खहरे संरक्षण एवम् ब्यवस्थापन सडकखण्डको अनुगमन गरेका हुन् ।

प्राबिधिक, इन्जीनियर, टोल समिति, वडाअध्यक्षसहितका जनप्रतिनिधि, स्थानियसहित मेयर कार्की उक्त क्षेत्रको अनुगमनमा पुगेका थिए । अनुगमन गरिएका सडकखण्डको नयाँ ठेक्काको अन्तिम तयारीमा रहेको उनले बताए । सो अवसरमा उनले नगरपालिकाभित्र सञ्चालनमा रहेका विकास निर्माणको स्थलगत अनुगमनसमेत गरेका थिए ।

स्थानीय बासिन्दालाई सडक फराकिलो बनाउन सहयोग गर्न आग्रह गर्दै उनले विकासको काममा स्थानीयबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताए ।

नगरका विकास निर्माणका आयोजनाहरुको विशेष अनुगमन गरिरहेको बताउँदै मेयर कार्कीले विकास निर्माणका आयोजनाहरुमा ढिलाइ गर्ने, लापर्बाही गर्ने र राजनीति गर्न खोज्नेलाई कारबाही गर्ने चेतावनी दिए ।

‘विकास निर्माणमा अवरोध पुर्‍याउन खोज्ने र पुर्‍याउने दुवैलाई कारबाही गरिन्छ’, उनले भने, ‘विकासका काममा तेरो र मेरो भन्नेलाई क्रमैसँग नगरपालिका कारबाहीमा उत्रिन्छ ।’ ‘हामी सवल, सक्षम र समुन्नत नगरपालिका बनाउने अभियानमा छौँ ।’

मेयर कार्कीकाअनुसार नगरपालिकाभित्र विकास निर्माणका कामले गति लिइरहेको छ । मेयर कार्कीले अन्य वडाको यसअघि नै स्थलगत अनुगमन गरिसकेका छन् ।


प्रतिकृया दिनुहोस्