Hamro Sanchar

सचिवालय जो सँग छ हामी त्यहि एनआरएन हौँ- मनिष केसी, महासचिव एनआरएन कुवेत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, २६ गते


Advertisement

विदेसमा रहेका नेपालीको सुख दुःख र अफ्ठ्यारोमा साथ दिन एउटै छातामुनी संगठित बनाउन भन्दै विसुद्ध सामाजिक कामका लागि गैर आवासीय नेपाली संघ (एनआरएन) स्थापना भयो । सुरूका केही वर्ष एनआरएनले राम्रै काम गर्‍यो । तर जब एनआरएनमा नेपालको राजनीति हाबी भयो त्यसपछि डनवाद र धनवाद एनआरएनमा मिसियो । अनि एनआरएनप्रति वितृष्णा छाउँदै आयो । १० औं महाधिवेशनमा नेतृत्व छान्न सकस भएपछि रविना थापा, कुल आचार्य र बद्री केसीलाई अध्यक्षमा चयन गरियो । त्यसलगत्तै शेष घलेले अर्को एनआरएन गठन गरे । दशौँ महाधिवेशनमा २ टुक्रा भएको एनआरएन विवादमुक्त हुन सकेन । गत कात्तिक २ गते काठमाडौंमा सम्पन्न ११ औं महाधिवेशन सम्पन्न भयो । प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै डा. बद्री केसीले जित हात पारे । केसी १३७८ भोट ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठ पराजित भए । शर्माले १२८१, श्रेष्ठले १२२५ मत प्राप्त गरे । तर उक्त नतिजा अस्वीकार गर्दै आरके शर्मा र महेश श्रेष्ठको प्यानलले अर्को एनआरएन घोषणा गरे । अहिले एनआरएन तीन टुक्रा भएको छ । सबैले आफुलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । विवाद झनै बढ्दै गएको छ । शर्मालाई एनआरएनको केन्द्रिय कार्यालयमा हातपातसमेत भयो । अहिले मुद्धा साइबर क्राइममा समेत पुगेको छ ।

विशेष गरि कुवेतमा नेपालबाट मानव तस्करी बढी नै हुने गरेको छ । नेपाल सरकारले घरेलु महिला कामदारलाई प्रतिबन्ध लगाएको छ तर पनि दैनिक सयौंको संख्यामा कुवेत पुग्ने गरेका छन् । दलालहरुले विमानस्थलबाटै सेटिंग मिलाएर र भारतको बाटो हुँदै राम्रो कामको सपना देखाएर सोझा नेपालीलाई फसाउने गरेका छन् । एनआरएन कुवेतले मानव तस्करी रोक्न पहलकदमी नचालेको पनि होइन । तर सरकारी निकायको उपस्थिति कमजोर हुँदा मानव तस्करी नियन्त्रणमा आउँन सकेको छैन । कुवेतमा १ लाखभन्दा बढी नेपाली श्रमिक रहेको बताइन्छ । एनआरएनए कुवेतको अधिवेशन गत साउनमा सम्पन्न भयो । एनआरएन तीन चिरा हुँदै गर्दा एनआरएन कुवेतको भूमिका के ? निर्वाचित भएसँगै २ बर्षे कार्यकालमा के-के गर्ने योजना छ ? कुवेतमा कार्यरत श्रमिकहरुको अवस्था के छ ? समस्यामा पर्दा एनआरएनएको भूमिका के हुन्छ ? जस्ता बिषयमा एनआरएनए कुवेतका महासचिव मनिष केसीसँग बिशेष कुराकानी गरेका छौं । प्रस्तुत छ महासचिव केसीसँग गरिएको कुराकानीको सम्पादीत अंश ;

कुवेतमा हजारौं नेपाली श्रमिकहरु छन्, नेपाली राजदूतावास पछि अविभावकको भूमिका एनआरएनको हुन्छ । तपाइँ एनआरएनको महासचिवमा निर्वाचित भएपछि नेपाली श्रमिकहरुको लागि के गरिरहनु भएको छ ?

यस अघिको अघिल्लो कार्यकालमा पनि पनि सचिव पदमा रहेर काम गरेको थिए । महासचिव भएपछि सबैभन्दा पहिले अध्यक्ष ज्युले ल्याउनु भएको कार्ययोजनालाई कार्यान्वयनमा ल्याउने काम हो र व्यक्तिगत तर्फबाट भन्दा हामी जति पनि मध्यपूर्व कार्यरत छौं । जति कार्ययोजना ल्याउछौ त्यो श्रमिक मैत्री हुनुपर्छ । खाडी लगायत कुवेतमा श्रमिक समस्याहरु छन् । यी श्रमिकहरुलाई परेका समस्या समाधान र उद्धारका लागि पुलको भूमिका निभाएर पिडितहरुको आवाज राजदूतावास मार्फत नेपाल सरकारसम्म पुर्याएर सहयोग गर्ने तर्फ लाग्ने छौं ।

यस अघिको कार्यकालमा पनि सचिव हुनुहुन्थ्यो अहिले महासचिव हुनु भएको छ । अहिलेसम्म पनि श्रमिकका समस्या जिउँका तिउँ छन् ।  एक पछि अर्को गर्दै बढेर गएका छन् ती समस्याहरु समाधानका लागि तपाइको महासचिव पदले कुन किसिमको भूमिका निर्वाह गर्छ ? हामी कसरी बिश्वास गरौँ तपाइले यो २ बर्षे कार्यकालमा नेपालीले भोग्नुपर्ने समस्या समाधान गर्न पहल गर्नुहुन्छ ?

श्रमिकहरुको समस्या समाधान हामीले गर्न सक्ने होइन, हामीहरु भनेको पुलको काम गर्ने हो । जति समस्याहरु आउछन् हामी श्रमिकको आवाज बनेर राजदूतावास सम्म पुर्याउने र राजदूतावास मार्फत नेपाल सरकारसम्म पुर्याउने हो । सरकारले युवालाई जति रोजगार दिनुपर्ने हो त्यो दिन सकेको अवस्था छैन । दैनिक हजारौं बिदेशिनु परेको अवस्था छ । त्यो संख्या कुवेतमा पनि बढीराखेको छ । कोरोना महामारीभन्दा पहिले कुवेतमा ७० देखि ७५ हजार नेपाली कामदार थिए अहिले १ लाख नाघिसकेको छ । हिजो कामदारको संख्या पनि कम थियो समस्या पनि कम थिए अहिले आज एउटा समस्या समाधान गर्यो भोलि फेरी अर्को नयाँ समस्याहरु आइरहन्छन् । सबै समस्या समाधान गर्ने हाम्रो हातमा छैन श्रमिकका समस्या समाधान गर्ने सरकारको निकाय राजदूतावास हो । हामी कुन किसिमको समस्या आइरहेको छ, मजदुरहरुको आवाज सम्बन्धित निकायसम्म पुर्याउने काम गर्छौ ।

श्रमिकका मुद्धामा नेपाली राजदूतावासको भूमिका कस्तो हुन्छ ? तपाइहरुले इंगित गरेका समस्या समस्या समाधान गर्न कतिको तत्पर हुन्छ ?

त्यो समस्या हेरेर हुन्छ, अब कतिपय समस्यामा तुरुन्तै एक्सन लिएर समस्या समाधान गर्छ भने कतिपय समस्यामा उल्टै पिडितलाई दुख दिने कार्यहरु पनि गरिरहेको हुन्छ । तर यो भनिराख्दा दूतावासले सबै समस्या समाधान गर्छ भन्ने चाही छैन । नेपाली श्रमिक समस्या लिएर जाँदा गेट बाहिर होइन गेट भित्र बोलाएर समस्या सुनेर समस्या समाधान गर्न तर्फ लागे श्रमिकहरुले दुख पाउदैनन् तर मैले अघि नै भनें हामी पुल बनिराख्नु परेको अवस्था छ । यदि हाम्रो हातमा सबै अधिकार हुन्थ्यो भने हामी सक्दो पहल गर्न लाग्ने थियौं । एनआरएनए एनसीसी कुवेतले समस्या लिएर गएको खण्डमा तत्काल अथवा ढिलो चाँडो समस्याको समाधान हुने हुने गरेको पाइएको छ । तर श्रमिकहरुले समस्या लिएर जाँदा प्राय जसो गेट बाहिर नै बस्नु पर्ने भोलि आउनु पर्सि आउनु भन्ने हुनाले चित्त बुझ्दैन ।

कुवेतमा बस्ने नेपालीको मुख्य समस्या के हो ? र तपाइहरुले भूमिका खेल्नु परोस् ।

यहाँ धेरै समस्या छन् त्यसमा पनि मुख्य समस्या निम्नानुसार छन् ;

१. कुटनीतिक नियोगको न्यून सहभागिता

२. सानो समस्याको लागि राजदूतावास धाउनुपर्ने बाध्यता

३. मानव तस्करी

यी माथिका तीन मुख्य समस्यामध्ये मानव तस्करी सबैभन्दा विकराल समस्या हो । विशेष गरि कुवेतमा नेपालबाट मानव तस्करी बढी नै हुने गरेको छ । नेपाल सरकारले घरेलु महिला कामदारलाई प्रतिबन्ध लगाएको छ तर पनि दैनिक सयौंको संख्यामा कुवेत पुग्ने गरेका छन् । दलालहरुले विमानस्थलबाटै सेटिंग मिलाएर र भारतको बाटो हुँदै राम्रो कामको सपना देखाएर सोझा नेपालीलाई फसाउने गरेका छन् । एनआरएन कुवेतले मानव तस्करी रोक्न पहलकदमी नचालेको पनि होइन । तर सरकारी निकायको उपस्थिति कमजोर हुँदा मानव तस्करी नियन्त्रणमा आउँन सकेको छैन ।

अनि अर्को समस्या हामी कुवेत जाँदा तलब मात्र हेरेर जान्छौं । काममा दक्ष हुँदैनौ । नेपाल देखि नै कुनै न कुनै काम सिकेर त्यहि काममा गएको समस्या आउदैन । कुवेतमा धेरै जसो रेस्टुरेन्ट लाइनको कामहरु हुन्छन् यदि रेस्टुरेन्टमा जाँदा सीप सिकेर गए समस्या आउँदैन । यसले गर्दा श्रमिकले भने जति तलब नपाउने र सम्झौतामा ८ घण्टा लेखिए पनि १० देखि १२ घण्टासम्म खटाउने हुन्छ । अनि क्लिनिंग कम्पनीमा जानेहरुले सम्झौतामा ८५ केडी लेखिन्छ तर श्रमिकले ७५ केहि पाइरहेको अवस्था छ । त्यसमा पनि कटौती गरेर ६५ केडी दिने समस्याहरु हामीले देखिराखेका छौं । त्यसैले घरेलु कामदारभन्दा पनि एकदम ठुलो समस्या भनेको अहिले क्लिनिंग कम्पनीमा छ ।

यो समस्या समाधानका लागि तपाइहरुले के भूमिका खेल्नु हुन्छ ? 

यो समस्या समाधानका लागि हामीहरुले केहि समय पहिले ओमानमा मध्यपूर्वको भेला हुँदा श्रममन्त्री शरदसिंह भण्डारी ज्युलाइ ज्ञापनपत्र पनि बुझाएका थियौं । हामीले टार्गेट गरेको चाहिँ क्लिनिंग कम्पनीमा सरकारले न्यूनतम तलब ८५ तोकेको छ त्यो तलबलाई लागु गरियोस् र अर्को समस्या घरेलु कामदारको हकमा कि पूर्ण रुपमा बन्द गरियोस् होइन भने रोजगारीका लागि विदेश पठाउने हो भने ब्यबस्थित रुपमा गभर्मेन्ट टु गभर्मेन्ट अथवा श्रम स्वीकृति प्रदान गरेर पठाउने व्यवस्था गरौँ भनेर लागेका छौं । सरकारले घरेलु महिला कामदारलाई प्रतिबन्ध लगाएको छ । तर अवैध बाटो हुँदै कुवेत पुग्नुहुन्छ अनि समस्या पैदा भएपछि दूतावास पुग्नुहुन्छ त्यहाँ पुगेपछि श्रम खोजिन्छ श्रम नहुँदा सरकारी तबरबाट आउनु भएको होइन  त्यसैले तपाइलाई हामीहरुले उद्धार गर्न सक्दैनौ मिल्दैन भनेपछि अलपत्र पर्नुहुन्छ वा अनागरिक हुनुहुन्छ त्यसपछि समस्या आउने भनेको एनआरएन र अन्य संघसंस्थामा हो । त्यसपछि जिउँदो भएको खण्डमा चन्दा उठाएर हुन्छ कि सरकारी पहल गरेर हुन्छ उद्धार गर्छौ । अवैधानिक रुपमा कुवेत पुगेका घरेलु कामदारको हकमा त झन् चन्दा उठाएर पठाउनुको विकल्प हुन्न । त्यसैले घरेलु कामदारको हकमा हामीहरुले कि सरकारी तबरबाट कानुनी प्रक्रिया पुरा गरेर पठाईयोस् कि भिसा नै ननिस्कने गरि पूर्ण रुपमा बन्द गरियोस् भनेर ज्ञापनपत्र बुझाएका छौं । दुताबासमा जति पनि छलफल हुन्छ हामीले बारम्बार कुरा उठाईराखेका छौं । तर अहिलेसम्म सरकारी निकायबाट कुनै कदम चालिएको छैन ।

तपाइँ एनआरएन कुवेतको महासचिव हुनुहुन्छ, अहिले एनआरएन ३ टुक्रा भएको छ । तपाइँ कुन प्यानलको महासचिव ?

हाम्रो हकमा एनआरएन एनसीसी कुवेत एक छौं । दशौँ अधिवेशनमा पनि फुटेर २ वटा ग्रुप बनेको हो त्यो एनआरएनए बन्दा पनि र अहिले पनि हामी सचिवालय जो सँग र सरकारले जसलाई मान्यता दिन्छ हामी त्यहि एनआरएनए हौँ । हामी कुनै पक्षमा छैनौं । हामी यो गुट त्यो गुट भन्न पनि रुचाउदनौ र हुँदा पनि हुँदैनौ । भोलि सरकारले मान्यता दिएर सचिवालयको नेतृत्व गरेर बिनोद कुँबर पक्ष आए हाम्रो अध्यक्ष उहाँ नै हो त्यहि प्रक्रियाअनुसार आरके शर्मा आए हामी उहालाई स्विकार्छौ अहिले सचिवालय बद्रि केसी ज्युसँग छ अहिले हाम्रो अध्यक्ष उहाँ नै हो । यहि प्रक्रियाअनुसार भोलि जो आएपनि हामि उहाँकै अण्डरमा रहेर काम गर्छौं । एनआरएनए एनसीसी कुवेतका पन्जिकृत सदस्य र कार्यसमिति पनि त्यहि पक्षमा छौं ।

तीन तिर फर्केका प्यानल भएका एनआरएन छ, आफैमा विभाजित यस्तो एनआरएनले दुख पाएर बसेका नेपाली श्रमिकका समस्या समाधान गर्छ भनेर कसरी बिश्वास गर्ने ?   

निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ । निर्वाचन पहिले ३ जना अध्यक्षका प्रत्यासीहरु हुनुहुन्थ्यो । उहाँहरु आउँदा हामीले सोधेका थियौं कि तपाईहरु जितेपछि मध्यपूर्वका लागि गर्ने के ? भनेर प्रश्न गर्दै कुवेतलगायत मध्यपूर्वका समस्याहरुका बारेमा सुनाएका थियौं । उहाँहरु तिनै जनाले जित पश्चात् समस्याका समाधान गर्ने भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । महासचिवको नाताले म आफै पनि बारम्बार सम्पर्कमा रहिरहेको हुन्छु । मेरो व्यक्तिगत तर्फबाट दबाब दिनु र समस्या लिएर घच्घच्याउने काम हुन्छ नै । चुनाव सकियो हार्नु र जित्नु चुनावी प्रक्रिया हो तर फेरी अर्को पटक भोट माग्न मध्यपूर्वमै आउनु पर्ने हुन्छ । उहाँहरुले श्रमिकका मुद्धामा काम गर्न सक्नु भएन भने मध्यपूर्व उहाँहरुको पक्षमा रहने छैन र कुवेत साथ दिने छैन ।

गैरआवासीय नेपालीहरुको साझा संस्था एनआरएन हो । तर कुवेतको एनआरएनए चाहिँ तामाङ घेदुङ भन्ने संस्थाका अगुवा व्यक्तिहरुको इसारामा उसले जता डम्फु बजायो त्यतै नाच्छ वा त्यो संस्थाले चलाइराखेको भन्ने आरोप लाग्ने गरेको छ । तपाइँहरु आधिकारिक र विश्वभरी फैलिएको सरकारले नै मान्यता दिएको एनआरएनलाई कसैको इसारामा नाच्ने संस्थाको रुपमा किन बनाइराख्नु भएको छ ?

यो प्रश्न गलत हो । एनआरएनए भनेको निस्वार्थ भावनाले सेवा गर्ने संस्थाका रुपमा स्थापित भएको हो । यदि कोहि संस्था वा संस्थाका प्रतिनिधिले निस्वार्थ सेवा गर्छु भनेर आउँदा पछाडी धकेल्ने कुरा गलत हो । तामाङ घेदुङ मात्र होइन अरु पनि संघ-संस्थाहरु छन् । त्यसमा पनि तामाङ समुदायका व्यक्तिहरु कुवेतमा धेरै छन् र उहाँहरु सामाजिक कार्यमा अरु समुदायभन्दा एक कदम अगाडी बढेर काम गर्नुहुन्छ । जस्तै पछिल्लो समय जाजरकोट र रुकुममा भुकम्पले पिडा दिएको छ । हामीले भुकम्प पीडितका लागि सहयोग संकलन अभियान चलाएका छौं । त्यसमा पनि उहाँहरुकै समुदाय अग्रसर भएर सहयोग गरिरहनु भएको छ । एक पटक चाहिँ तामाङ जातीले एनआरएन नै कब्जा गरेको भन्ने हल्ला फैलिएको थियो । यो कुरा पहिले पनि उठेको थियो तर यो कुरा गलत थियो । किनभने अहिले हामीसँग भाइटल पोष्टमा ५ जना मात्रै तामाङ समुदायका व्यक्तिहरु हुनुहुन्छ भने १२ जना अन्य जातीका व्यक्तिहरु हुनुहुन्छ । हुनुहुन्छ र कार्यसमितिमा जम्मा ३ जना मात्र र ११ जना अन्य समुदायका हुनुहुन्छ । यसो भनिरहदा मैले जाती बिशेषलाई जोड्न खोजेर अरु पछाडी हट्नु भयो भन्न खोजेको चाहिँ सबैले आ-आफ्नो ठाउँबाट सामाजिक कार्य गरिरहनु भएको छ तर हरेक दुख, पीडा र अप्ठ्यारोमा अन्य जातीभन्दा उहाँहरु नै एक कदम चाहिँ अगाडी बढ्नु हुन्छ । उहाँहरु अग्र पंतिमा आएर उभिनु हुन्छ अनि तामाङ समुदायकै भएको नाताले तामाङ समुदायले एनआरएनए कुवेतलाई चलाएको भन्नु गलत हो ।

कुवेतमा नेपालीको अवस्था कस्तो छ ?

कुवेतमा एक लाखभन्दा बढी नेपाली श्रमिक रहेको बुझिन्छ । ७० देखि ७५  भन्दा बढी संघसंस्था गठन भएका छन् । सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिईराख्नु भएको छ । एनआरएनमा पञ्जीकृत सदस्य लिनेको संख्या १५१६ सय जना पुगेको छ । घरेलु कामदार, क्लिनर देखि ठुला-ठुला पोष्टमा गर्ने नेपालीहरु पनि छन् । मासिक ३० हजार देखि लाखौ कमाउने नेपालीहरु पनि छन् ।

अन्तमा के भन्न चाहानुहुन्छ ?

एनआरएन कुवेत अन्य क्षेत्रको एनसिसीभन्दा पृथक भएको जानकारी गराउन चाहान्छु । हामी प्रचारलाई भन्दा बढी परिणममुखी कामतर्फ केन्द्रित हुने गरेका छौ । त्यहाँ बस्ने नेपालीलाई परेको हरेक समस्यामा साथ दिदै समाधान गर्नेतर्फ बढी केन्द्रित हुन्छौ । कुवेतमा रहेका श्रमिकलाई अनैतिक कार्यमा नलाग्न अनुरोध गर्दछु । जाँडरक्सी लगायतका पदार्थ कानुनले बर्जित गरेका चिज हुन् । कानुन मिचेर कुनै काम नगरौं । समस्या परेको खण्डमा सिधै राजदूतावास वा एनआरएन र अन्य संस्थाको सहयोग मागौं । समस्या परे कम्पनी छाडेर भाग्ने र फेसबुक, टिकटक लगायत सामाजिक संजालमा पोष्ट गर्ने प्रवृति बढेको छ त्यो बिल्कुल नगरौं । त्यसो गर्दा समस्या झन् जटिल हुँदै जान्छ । एनआरएन एनसीसी कुवेत जुनकुनै समस्याको समाधानका लागि सारथी बन्ने छ ।


प्रतिकृया दिनुहोस्