
काठमाडौं, कात्तिक २२- इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला भोलिसम्ममा हुने भएको छ । आज बहस सकेर भोलिसम्ममा फैसला गर्ने जिल्ला अदालत रौतहटको तयारी छ ।
जिल्ला अदालत रौतहटका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल पक्षको बहस हिजो सकिएको छ । आलम पक्षका वकिलको बहस पनि हिजो नै सकिएको छ । बाँकी केही वकिलको बहस आज सकिने र त्यसलगत्तै मुद्दाको फैसला हुने जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले बताए ।
‘आलमविरुद्धको मुद्दाको मिसिल खोलिएको छ । मुद्दामा सरकारी वकिल पक्षको बहस सकिएको छ । प्रतिवादीको पक्षबाट पनि बहस भएका छन् । केही अधिवक्ताको बहस बाँकी छन् । सम्भवतः बुधबार उनीहरूकोे बहस सकिनेछ,’ उनले भने, ‘त्यसलगत्तै मुद्दाको फैसला होला, बिहीबारसम्ममा फैसला भइसक्ला ।’
सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले मुद्दाको पक्षबाट बहसको नेतृत्व गरेका थिए । मुद्दामा स्वतन्त्र अधिवक्ता पुष्प पौडेलले पनि बहस गरिरहेका छन् । मुद्दामा उनले बुधबार बहस गर्नेछन् । जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मुद्दाको बहस भइरहेको छ ।
आचरणमा कैफियत देखिएपछि न्यायाधीश बानियाँ यसअघि न्यायपरिषद्बाट तीन वर्ष निलम्बनमा परेका थिए । जिल्ला अदालत काठमाडौंमा छँदा घुस लिएको घटनामा उनी मुछिएका थिए । न्यायपरिषद्ले निलम्बन फुकुवा गरेपछि उनी न्यायाधीशमा पुनर्वहाली भएका थिए ।