काठमाडौं, कात्तिक १६- बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा ५ प्रतिशतले खपत घटेको हो ।
पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन)को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५३ अर्ब रुपियाँ बराबरको ५ लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ ।
आव २०७८/७९ मा ६१ अर्ब रुपैयाँ बराबरको ५ लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा ८ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउनका लागि बिजुलीको प्रयोग बढ्दै गएपछि ग्यासको आयातमा कमी आएको जानकारी दिए । आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको उनको भनाइ छ ।
विद्युत् आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको उनको भनाइ छ । बिजुलीभन्दा सस्तो पर्ने र पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको उद्योगीको भनाइ छ ।
ग्यास विक्रेता महासङ्घका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिए । आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युतको आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उनको भनाइ छ ।
मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण ठुला रेस्टुरेन्टमा कारोबार घटेकाले ग्यासको खपतमा कमी आएको उनको भनाइ छ ।