काठमाडौं, कात्तिक १२- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
नेपालको चारदिने भ्रमणको सिलसिलामा महासचिव गुटेरेस आइतबारै बिहान काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता सकिएपछि उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने कार्यक्रम छ ।
देउवा र ओलीसँग भेटवार्ता गरेपछि उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्न शीतलनिवास जानेछन् ।
यसअघि, आजै उनले परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका थिए ।