Hamro Sanchar

‘रिगलको कैद माफीविरुद्ध दायर भएको रिटमा आज सुनुवाइ हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २५ गते


काठमाडौं, असोज २५- चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमा बिहीबार सुनुवाइ हुँदैछ ।

कैद माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् । सर्वोच्चले असोज १८ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गरेको थियो । सुनुवाइमा सर्वोच्चले कैद मिनाहाको विषयलाई गम्भीर रूपमा लिँदै यस मुद्दाको पेसी स्थगित नहुने ‍जनाएको थियो ।

यसभन्दा अगाडि उक्त रिटमा दुई पटक पेसी तोकिए पनि सुनुवाइ भने भएको थिएन । रिगललाई आममाफी दिएको भन्दै राष्ट्रपति पौडेलको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति पौडेलले रिगललाई आममाफी दिएका थिए । रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।


प्रतिकृया दिनुहोस्