
काठमाडौं, असार ३१- भारतीय राजदूतावास काठमाडौंले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप दिएको छ ।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको उपस्थितिमा आइतबार ती एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे । विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको समारोहमा उपस्थिति थियो ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ ।
समारोहमा बोल्दै राजदूत श्रीवस्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताए ।
उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रूपमा रहेको जानकारी दिए । लामो इतिहास र विरासत बोकेको र नेपालका धेरै जसो भू-भागमा फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उनले बताए ।
समारोहमा बोल्दै मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे । उनले ती परियोजनाले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताए । मन्त्री राईले नेपालको हिमालदेखि तराईसम्मका विद्यालय तथा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा भारत सरकारको प्रशंसा गरे ।
सन् १९९४ यता भारतले आजको सहित हालसम्म नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघ संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको छ । यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउन र यस्ता सुविधाको सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले गदै आएको निरन्तर सहयोगको एक हिस्साको रूपमा रहेको छ ।


















