स्याङ्जा, असार ८- टिकटकको माध्यमबाट नजिक भई सुन चोरी गर्ने एक महिला स्याङ्जामा पक्राउ परेकी छिन् । सुनका गरगहना लगाएका अपरिचित व्यक्तिहरूलाई साथी बनाउने, उनीहरूको टिकटक भिडियोहरूमा लाइक तथा कमेन्ट गरी टिकटकबाट नै कुराकानी गर्ने र नजिकको साथी बनी घरमा गई चोरी गर्ने गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–३ बस्ने २४ वर्षीया कुसुम बिसी रहेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिनुभयो । कुसुमले टिकटकबाट साथी बनाएकाहरूको घरमा गई कहाँ के राखेको छ, गोप्य समान कहाँ छन् भन्ने जानकारी लिएपछि चोरी गरी भाग्ने गरेको डीएसपी खनालले बताउनुभयो ।
वालिङ नगरपालिका–६ एक्ले पिपलमा रहेको एक घरमा कुसुमले चोरी गरी भागेको उजुरी परेपछि चोरीको नयाँ तरिका बाहिर आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनले टिकटकबाट साथी बनेकाहरूको सुन चोरी गर्ने पोखरामा लगेर पसलमा बेच्ने गरेकी थिइन् ।
पक्राउ परेकी कुसुमको साथबाट आधा तोला बराबरको बेरुवा औँठी एक थान र एक तोला बराबरको करुवा लकेटसहितको सिक्री एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनले कुन ठाउँबाट कति गरगहना चोरी गरिन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।