काठमाडौं, असार ७- दशैँ र तिहारको रमझम थियो । नाचगानका भाकाहरु कर्णाली प्रदेशको पहाडी जिल्ला सल्यानमा गुञ्जीरहेका थिए ।
दशैँ र तिहारका लहरेभाकासँग एक प्रेमिल जोडिपनि विवाह बन्धनमा बाँधिएको धेरै समय बितेको थिएन । प्रेमिल जोडि जीवनका अनेक रंगहरु भर्दै भविश्यको योजना बुनिरहेको थियो । १५ असोजका दिन त्यो प्रेमिल जोडिको जीवनमा साँच्चिकैको ब्रजपात भयो । जसको परिणाम भयावह हुँदै काठमाडौं ट्रमा सेन्टरको बेड नम्बर ६४२ मा पुगेको छ ।
आफैँले प्रेम गरेको केटासँग विवाह बन्धनमा बाँधिदा सल्यान कुमाख गाउँपालिका ७ जिमालीकि सुनिता पुन निकै खुसी थिइन । १५ असोज २०७९ बिहान जिमालीबाट सार्वजनिक गाडी चढिन् । गाडी चढेको एक घण्टामै दुर्घटना पर्यो । सुनीता गम्भीर घाइते भइन । उनको टाउको, शरिरको पछाडीको भाग र खुट्टामा गम्भीर चोट लाग्यो ।
श्रीमती चढेको सार्वजनिक यातायात दुर्घटना भएको थाहा पाउनसाथ श्रीमान राजेश पुन घटनास्थल पुगे । घाइते श्रीमतीको उद्धार गरी नेपालगञ्ज भेरी अस्पतालमा पुर्याए । लामो समय उपचार गर्दापनि सुनीताको स्वास्थ्यमा सुधार आएन । त्यसपछि उनले भारतको लखनउमा पुरयाए । घरमा भएको सम्पूर्ण सम्पति उपचारमै सकियो तरपनि श्रीमतिको स्वास्थ्यमा सुधार आउन सकेन ।
एकातिर सबै सम्पति सकियो, अर्कोतिर श्रीमतीको स्वास्थ्य अवस्थामा सामान्य पनि सुधार आएन । भारतमा उपचार गराउन नसकेपछि राजेशले घाइते श्रीमतीलाई जिल्ला प्रशासन कार्यालय सल्यानमा पुर्याए । श्रीमतीलाई काखमा उच्चालेर जिल्ला प्रशासन लिदै गरेको तस्बिर साँच्चिकै दर्दनाक थियो ।
सुनीताको दर्दनाक तस्बिर सामाजिक सञ्जालमा देखेलगतै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रमुख जिल्ला अधिकारसँग कुरा गरेर हवाई सेवाबाट काठमाडौं ल्याए। काठमाडौंको ट्रमा सेन्टरको ६४२ नम्बर बेडमा सुनीताको उपचार भइरहेको छ । मन्त्री ज्वालाले आफैँ आर्थिक सहयोग गरेर उपचारमा सहयोग पुर्याइरहेका छन्। दैनिक सुनीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै चिकित्सकहरुसँग परामर्सपनि गरिरहेका छन्।
सुनीताको स्वास्थ्य अवस्था जटिल छ । तर पनि श्रीमान राजेशले हार मानेका छैनन् । श्रीमतीको ज्यान बचाउन विगत ९ महिनादेखि निरन्तर लागिरहेका छन् । ९ महिनादेखिको चोटका कारण सुनीता अस्पतालको बेडमा कहिलेकाँहि चिच्चाउने गर्दछिन् र श्रीमान राजेशका आँखा रसाउने गर्दछन् ।
श्रीमतिको उपचारमा सम्पूर्ण सम्पति सकेका राजेशलाई मन्त्री ज्वालाले सहयोग गरेपछि अन्य सहयोगीहरुले पनि आर्थिक सहयोग गर्न थालेका छन्। देश विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग जुट्न थालेको राजेशले बताए ।
बुधबार अमेरिका र कोरियामा रहेका नेपालीहरुले पठाएको दुई लाख २० हजार मन्त्री ज्वालाले हस्तान्तरण गरेका छन्। सल्यानी समाज दक्षिण कोरियाका वसन्त राना, टासिङ पुन, भीमराज बुढाथोकिले १ लाख ५५ हजार आर्थिक सहयोग पठाएका थिए भने, नेपालगञ्ज निवासी विमलकुमार चन्दको पहलमा अमेरिकाको भर्जिनियामा रहेका जुली ओली र प्रदीप ओलीले ६५ हजार आर्थिक सहयोग गरेका थिए ।