Hamro Sanchar

रविलाई रघुवीरको दनक- बालुवाटारमा बच्न म्याउँम्याउँ गरेको बुझेका छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १० गते


काठमाडौं, जेठ १०- नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रतिनिधि सभाको बैठकमा छेडखानी भइरहेका छन् ।

प्रतिनिधिसभाको बैठक सरू हुनेबित्तिकै विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने तर्क गरे ।

त्यतिमात्र होइन, उनले तीन दल खुसुरखुसर बसेकोमा रास्वपाले आशंका गर्दै आएको कुरा पनि उठाए ।

त्यसलाई नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले जवाफ फर्काए । नागरिकतामा कैफियत देखिएपछि सभापति लामिछाने बच्न बालुवाटारमा म्याउँम्याउँ गर्न पुगेको टिप्पणी गरे ।

‘आज भर्खरै मात्र पनि मैले सुनें, भुटानी शरणार्थी प्रकरणबारे, जुन अहिले छानबिन भइरहेको छ, तीन पार्टीले बालुवाटारमा बसेर मिलाउनेगरी छलफल गर्दैछ। कुनकुन तीन पार्टी हुन्? उहाँले बोल्नु त भएन। यस्तायस्ता साथीहरू छन्, म भन्न चाहन्छु- तीन पार्टी होइन, रातिको समयमा तपाईंहरू पनि आफू बच्नका लागि कसरी बालुवाटारमा म्याउँम्याउँ गर्नु भएको थियो?,’ उनले भने ।

तीन पार्टीलाई देखाएर आफू स्थापित हुनेगरी नयाँ शक्तिहरू लागि परेको उनले आरोप लगाए । ‘परिवर्तनका लागि लडेका पार्टीहरूका विरूद्धमा भित्र र बाहिर भाषण गर्नेगरी जुन प्रकारको शक्तिहरू आइरहेको छ, त्यस्ता शक्तिबाट हामी सावधान पनि हुनुपर्छ,’ उनले भने ।

 


प्रतिकृया दिनुहोस्