
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् ।
कांग्रेसले काठमाडौंमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा महामन्त्री थापाले सरकार र संसदले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्दा केही कठोर निर्णयसमेत गर्नुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्त्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताए ।
उनले कांग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अविलम्व अघि सार्ने व्यवसायीसामु प्रतिवद्धता गरे । उनले मुलुकमा वार्षिक १८ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने स्थिति नआउनु राम्रो संकेत नभएको बताए । महामन्त्री थापाले आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताए ।
उनले अर्थतन्त्रको संरचनागत सुधारमा कांग्रेस केन्द्रित भएर आर्थिक चक्रमा देखिएको समस्या समाधान गर्न इमान्दार प्रयत्न गर्ने बताए । उनले अर्थतन्त्र बिग्रियो भनेर अहिलेजस्तो गुनासो पहिला कहिल्यै सुनिएको बताउँदै संसदमा प्रधानमन्त्रीदेखि संसदसमेतले अर्थतन्त्रमा संकट छ भन्ने गरेको बताए । उनले कांग्रेस सरकारमा गएर अर्थतन्त्रमा आएको ज्वरोलाई तत्काल ज्वरो हटाउने काम गर्ने बताए ।
उनले अर्थतन्त्रको निश्चित ढाँचा र ढर्राबाट चलिरहेको अर्थतन्त्रलाई संरचनागत सुधार र उपचार नगर्ने हो भने कुनै न कुनै बेला थला पर्ने अवस्थामा पुग्ने बताए । महामन्त्री थापाले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको भन्दै अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने बताए ।
महामन्त्री थापाले केही महत्त्वपूर्ण २२–२४ वटा कानुनलाई संसदको चालु अधिवेशनबाटै टुङ्गयाउन जरुरी रहेको भन्दै कांग्रेसले त्यसको लागि पहल गर्ने बताए।