Hamro Sanchar

फागुन २८ अघ‍ि राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुन्छ : कोइराला

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १४ गते


मोरङ । सांसद तथा कांग्रेस नेता शेखर कोइरालाले फागुन २८ गते अगाडि राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुने बताएका छन् । प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनमा शनिबार विराटनगरमा बोल्दै कोइरालाले संविधानभन्दा माथि होइन, संविधान मातहत रहने राष्ट्रपति मुलुकलाई आवश्यक रहेको बताए ।

सभामुख माओवादीको हुँदा बजेट सदन बाहिरै पढियो,उनले भने, नागरिकता विधेयक सदनबाट पारित भइसकेको अवस्थामा राष्ट्रपतिले संविधान विपरीत अहिलेसम्म अल्झाएर राखिरहनु भएको छ ।त्यसैले संविधानलाई स्वीकारेर अघि बढ्ने राष्ट्रपति मुलुकका लागि आवश्यक भएको कोइरालाको भनाइ थियो ।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिएर अघि बढ्ने उनले बताए । उनले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउन पार्टी सम्बद्ध सबैलाई सघाउन आग्रह गरे । देशमा जसलाई जे मन लागेको छ त्यही गरिरहेको र त्यसलाई स्वीकारेर अघि बढ्नु पर्ने अवस्था छ,कोइरालाले भने, त्यसैले अहिलेको अवस्थामा पत्रकारको भूमिका महत्वपूर्ण छ ।

रवि लामिछानेको घटनाले यो देशमा कानुनी राज्य छ भन्ने कुरा प्रमाणित भएकोबाट सबैले पाठ सिक्नु आवश्यक रहेको उनले बताए । न्यायालय अडिग हुँदा न्याय हुँदो रहेछ भन्ने हिजोको सर्वोच्चको फैसलाले प्रमाणित गरेको छ, कोइरालाले भने, राज्य संयन्त्र पूरै लाग्दा पनि न्यायालयले कानुन अनुसार फैसला गर्‍यो ।

उनले देशको आर्थिक अवस्था दयनीय रहेकोप्रति चिन्ता व्यक्त गरे । अवकाश प्राप्त कर्मचारीको पेन्सनका लागि २० मिलियन र सामाजिक सुरक्षा भत्ताका लागि राज्यले बजेटको व्यवस्थापन गर्न नसक्ने अवस्था छ,ञ उनले भने, प्रदेशले केही मन्त्रालयहरू घटाएकाले केही अर्ब सञ्चित भएको र यससलाई संघीय सरकारले पनि अंगिकार गर्नु आवश्यक छ । विज्ञापन दिने संस्था नै धाराशायी भइसकेको अवस्थामा समग्र मिडिया क्षेत्र प्रभावित भएको उनले बताए । देशका उद्योगहरू धाराशायी हुँदै गएको अवस्था रहेकाले समयमै सचेतना अपनाउनु आवश्यक भएको उनले सुनाए ।

कोइरालाले कांग्रेस जुनसुकै बेला सरकारमा जान सक्ने बताए । यो भन्दा अगाडि साढे तीन वर्ष कांग्रेस विपक्षमै थियो तर एमाले र माओवादीकै कारण सरकारको नेतृत्व पाएको थियो, उनले भने, यस पटक देशको ठूलो दल हुँदाहुँदै पनि सरकारमा जानबाट बञ्चित हुनु परेको छ र राजनीतिमा यस्ता घटना भइरहन्छ । त्यसैले यो विषयमा धेरै चिन्ता लिनु पर्दैन किनकी जुनसुकै बेला सरकारमा जान सक्छौं ।


प्रतिकृया दिनुहोस्