काठमाडौं, पुस २७- नुवाकोटमा श्रीमतीमाथि बञ्चरो प्रहार गरी भागेका श्रीमान मृत अवस्थामा फेला परेका छन् । ककनी गाउँपालिका-२ चित्रेस्थित ३९ वर्षीय काले भन्ने माइला तामाङको शव मंगलबार फेला परेको हो ।
वडा नम्बर १ नयाँ बस्तीस्थित चाउथे जाने भित्री सडकमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनले आफ्नी श्रीमतीको हत्या गर्ने प्रयास गरेका थिए ।
सोमबार दिउँसो साढे ३ बजे तामाङले आफ्नी ३५ वर्षीया श्रीमती निरमाया तामाङसँग झगडा गरेका थिए । उनीहरूबीच घरायसी विवादका कारण झगडा भएको थियो ।
त्यही क्रममा बञ्चरोले निरमायाको टाउकोमा प्रहार गरी भागेका थिए ।
घाइते भएकी निरमायाको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
उनको मृत्युको कारण खुल्न सकेको छैन । तर हत्या गरेको आरोपमा दुई जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूलाई पनि मंगलबार नै पक्राउ गरेको हो ।