काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अब पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् । चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी उनको छ । खाण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए । उनले जनताको अभिमतलाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिए ।
भैरहवामा आज भएको गठबन्धनको बैठकमा गृहमन्त्री खाणले अब सरकार बनाउन पाँचदलीय गठबन्धनको बहुमत पुग्ने दाबी गरेका थिए । अब बन्ने सरकार ५ वर्षसम्म टिक्ने पनि उनले बताएका छन् ।
उनले अब प्रधानमन्त्री को बन्ने भन्ने सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा बसेर टुंगो लगाउने बताएका छन् ।