Hamro Sanchar

‘मेयरसँग ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य सेवा कार्यक्रम’ सम्पन्न, २०० जनाले लिए सेवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, १५ गते


Advertisement

काठमाडौं, असोज १५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ मा शुक्रबार ‘मेयरसँग ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य सेवा कार्यक्रम’ सम्पन्न भएको छ । निशुल्क स्वास्थ्य सेवा कार्यक्रममा २ सय जना ज्येष्ठ नागरिकहरुले विशेषज्ञसहितको स्वास्थ्य सेवा लिएको नगरपालिकाकी स्वास्थ्य उप-प्रमुख लक्ष्मी कोइरालाले जानकारी दिइन् ।

कार्यक्रम अन्तर्गत वडामा बसोबास गर्ने ६८ बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुले मुटु रोग, फिजीसियन, दन्त चिकित्सक, आँखा रोग, मुटुको भिडियो एक्सरे, भिडियो एक्सरे, मधुमेह तथा पिसाब परिक्षणलगायतका सेवा निशुल्क पाएका थिए ।

कार्यक्रममा एकसय पन्ध्र जना आँखाका बिरामीको चेकजाँच गरिएको थियो । तीमध्ये ९ जनाको मोतीबिन्दुको शल्यक्रियाका लागि नेपाल आँखा अस्पताल र केही बिरामीलाई थप उपचारका लागि मुलपानी भिजन सेन्टरमा पठाइएको मुलपानी आँखा उपचार केन्द्रका प्रमुख दिवाकर पौडेलले जानकारी दिए । आँखाका बिरामीलाई निशुल्क चेकजाँच गर्नुका साथै निशुल्क औषधी वितरण गरिएको थियो ।

निशुल्क स्वास्थ्य कार्यक्रम वडा कार्यालय परिसरमा बिहान ८ बजदेखि संचालन भएको थियो ।

कार्यक्रमको उद्घाटन नगरप्रमुख उपेन्द्र कार्कीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले ज्येष्ठ नागरिकको हक, हितका लागि आफूलगायत सिंगो नगरपालिका लागि परेको बताउदै आगामी दिनमा ज्येष्ठ नागरिकहरुलाई घर-घरमैै स्वास्थ्य सेवा पुर्याइने बताए ।

कार्यक्रममा वडाअध्यक्ष भिमसेन थापाले ज्येष्ठ नागरिकको सम्मान गर्दै विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

कार्यक्रममा उपप्रमुख शान्ता थापा, कानूनी सल्लाहकार विश्वनाथ खनाल लगायत वडाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, शाखाका कर्मचारी र  स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 


प्रतिकृया दिनुहोस्