काठमाडौं, भदौ १५- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफुहरुलाई अपमान सह्य नहुने बताएका छन् ।
पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘जम्मै सिट आफूले लिने र उब्रिएको हामीलाई दिने हो भने हामीलाई स्वीकार्य हुँदैन,’ उनले भने ।
दुबै पक्षलाई फाइदा हुने हो भने मात्र गठबन्धन हुन सक्ने भन्दै उनको भनाइ छ ।
‘फाइदा हुने हो भने गठबन्धन हुने हो, फाइदा हुँदैन भने हामी कसैको निम्ति भर्याङ हुन चाहँदैनौ ।’
नेता नेपालले दलहरुमा नेता व्यवस्थापन गर्न कठिन भए पनि अप्ठेरोमा साथ दिएको कुरा विर्सन र आफूहरुको भूमिकाको अवमूल्यन नगर्न चेतावनी दिए । यद्यपि सत्तारुढ गठबन्धनमा कुरा मिल्ने र सिट बाँडफाँट छिटो टुंग्याउने उनले आश्वासन दिए ।
अध्यक्ष नेपालले नेता कार्यकर्तालाई गाउँ जान र भोट माग्न आग्रह गरे । उनले काठमाडौंमा पलेटी कसेर बस्ने काम नगर्नु भन्दै जिल्ला जिल्लामा गएर निर्वाचन क्षेत्रमा जान निर्देशनसमेत दिए ।