काठमाडौं, साउन १२- फूर्पा साङ्मो तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका छन् । बुधवार जिल्ला अदालत पुगी तामाङले गाली बेइज्जती र कुटपिट सम्बन्धी मुद्दा दर्ता गरेका हुन् ।
फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको भनेका छन् ।
यस्तै फिल्म प्राविधिक ठकुरीले मिरूनालाई उक्साउने काम गरेको भन्दै उनीविरूद्ध पनि कारवाही माग गरेका छन् ।
तामाङकाअनुसार आफू निर्दोष भएर पनि प्रहरी हिरासतमा पुर्याएको‚ करिअर सकाउने‚ लामा वस्त्र उतार्ने लगायतको धम्की मिरुनाले दिएकी थिइन् ।
मुद्दा दर्ता गरेपछि मिरुनाले कानुन बमोजिम सजाय पाउनुपर्ने माग फूर्वाको रहेको छ ।
गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित कबड्डी ४ फिल्मको प्रमोसनमा पुगेकी मिरूनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फूर्पालाई थप्पड हानेकी थिइन् ।
साथै उनले प्रहरीमा समेत फूर्पाको अनुचित व्यवहारविरुद्ध उजुरी दिएकी थिइन् ।
विरोध बढेपछि फूर्पालाई प्रहरी छाडेको थियो । लगत्तै जेठ १७ गते फिल्मका कलाकार, निर्देशक र लामा गुरुहरु साक्षी राखेर दुवै पक्षबीच माफी माग्ने र दिने सहमति भएको थियो ।