Hamro Sanchar

बाबुआमाले धेरै माया गरेको भन्दै दाजुभाउजुले गरे भाइबुहारीको विभत्स हत्या, यसरी खुल्यो रहस्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १० गते


दाङ, साउन १०- बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुर निवासी एक दम्पतीको हत्या योजना दाजुले नै बनाएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भाइ-बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको खुलेको हो ।

मंगलबार बिहान कृष्ण र अञ्जली घरमै मृत फेला परेका थिए । भाइको हत्या आरोपमा पक्राउ परेका विजयमाथि सोधपुछ गर्दा आफूले एक लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको स्वीकारेका हुन् । प्रहरीका अनुसार पत्नी अञ्जली घरभित्र र पति कृष्ण घर बाहिर मृत भेटिएका थिए । प्रहरीका अनुसार घटनास्थलमा चुँडिएको डोरी भेटिएको थियो ।

प्रहरीका अनुसार बाबुआमाले भाइ-बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको रिसले भारतबाट मानिस ल्याएर हत्या गर्न लगाइएको हो । भाइलाई बुहारीले कुरा लाउने र भाइले बुवालाई उचालेर आफूलाई कुटेको हुँदा त्यसकै बदला लिन जेठाजुले बुहारीको हत्या गर्ने योजना बनेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार सबैजसो नातेदार भारतमा भएकाले उतैबाट मानिस बोलाएर हत्या गरिएको हो । घटनामा चार जनाको संलग्नता देखिएको छ ।

मृतक दम्पतीको शरीरमा चोट र घटनास्थल रगताम्य देखिएपछि दाजुसहितका शंकास्पदमाथि प्रहरीले अनुसन्धान थालेको थियो ।


प्रतिकृया दिनुहोस्