बैतडी, असार ३०- बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि जबरजस्तीकरणी मुद्दा दर्ता भएको छ ।
प्रहरी प्रवक्ता लोकराज जोशीकाअनुसार आफूमाथि जबरजस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले इलाका प्रहरी कार्यालय, पाटनमा जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी हुन् ।
पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।
कैलाली घर भई बैतडीको पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लगाएकी हुन् ।
असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पीडित महिलाको बुधबार स्वास्थ्य परीक्षण गरिएको छ । रिपोर्ट आउन बाँकी छ ।
आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले पदबाट राजीनामा दिएका छन् ।