काठमाडौं । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले विस्थापित परिवारको सुरक्षित र सम्मानजनक पुनर्वास सुनिश्चित नगरी अस्थायी आश्रयबाट समेत हटाउन खोज्नु संविधानप्रदत्त आवासको हक, कानुन र सामाजिक न्यायको मर्मविपरीत भएको निष्कर्ष निकालेको हो।
कांग्रेसले सरकारले पहिले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेको भन्दै अहिले बाँकी रहेको आश्रयसमेत खोस्न खोज्नु अमानवीय व्यवहार भएको टिप्पणी गरेको छ।
राज्य नागरिकको अभिभावक भएकाले घरबारविहीन नागरिकलाई आश्रय दिनुपर्ने कांग्रेसको भनाइ छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानमार्फत सम्बोधन गर्नुपर्ने पार्टीले जनाएको छ।
यसैबीच, होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन्।
मंसिर ८ गतेदेखि जारी बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। धारणा राख्ने क्रम नसकिएकाले बैठक शुक्रबार बिहान ८ः३० बजे पुनः बस्ने कांग्रेसले जनाएको छ।
प्रेस विज्ञप्तिअनुसार बैठकमा केन्द्रीय सदस्यहरू, विभिन्न प्रदेशका सभापति तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने नेताहरूले समेत आफ्नो धारणा राखेका छन्।

























