२२ कार्तिक, काठमाडौं । आज लक्ष्मीपूजाका दिन देशभर विद्युत्को अधिकतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त माग आन्तरिक उत्पादनबाटै धान्न सकिनेछ।
हाल नेपालमा करिब २ हजार ५ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ। मागभन्दा उत्पादन बढी रहेकाले तिहारभर विद्युत् अभाव नहुने प्राधिकरणको दाबी छ।
तिहार र छठलाई लक्षित गर्दै प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणाली चुस्त राख्न विशेष तयारी गरेको जनाएको छ। सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न प्राविधिक टोलीलाई २४ घण्टा तयारी अवस्थामा राखिएको छ।
साथै, विद्युत् प्रयोग गर्दा सावधानी अपनाउन र गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।

























