Skip
आज : २०८३ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अब कागेश्वरी मनोहराबाटै प्यान कार्ड पाइने, हट्यो कोटेश्वर र जोरपाटी धाउन पर्ने बाध्यता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २१ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रका स्थायी बासिन्दा तथा व्यवसायीलाई लक्षित गरी नगरपालिकाबाटै स्थायी लेखा नम्बर (PAN) कार्ड तथा प्रमाणपत्र वितरण सेवा सुरु गरेको छ।

नगरपालिकाले बिहिबारदेखि स्थायी लेखा नम्बर (PAN) कार्ड तथा प्रमाणपत्र वितरण सुरु गरेको हो।

नागरिकलाई घरदैलोमै सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आन्तरिक राजस्व कार्यालय जोरपाटी र कोटेश्वरसँगको समन्वयमा शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याएको हो।

सेवाको शुभारम्भ गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले करदाता सेवा केन्द्रबाट उपलब्ध हुँदै आएको व्यक्तिगत तथा व्यावसायिक PAN कार्ड र स्थायी लेखा नम्बर प्रमाणपत्र वितरण सेवा अब आफ्नै नगरपालिकाबाट प्रदान गर्ने व्यवस्था मिलाइएको बताए। कार्यक्रममा नगरप्रमुख कार्कीले सेवाग्राहीलाई स्थायी लेखा नम्बर प्रमाणपत्र वितरणसमेत गरेका थिए।

उनका अनुसार व्यक्तिगत करदाता तथा व्यावसायिक फर्महरूले नगरपालिकाको कार्यालयमा आवश्यक विवरण भरेर PAN कार्ड तथा प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।

नगरप्रमुख कार्कीले स्थानीय सरकारबाटै नागरिकलाई बढीभन्दा बढी सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप करसम्बन्धी सेवा विस्तार गरिएको बताए।

उनले आगामी दिनमा मूल्य अभिवृद्धि कर (VAT) लगायत अन्य करसम्बन्धी सेवा पनि नगरपालिकाबाटै उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए। सेवा सञ्चालनमा सहयोग पुर्‍याउने राजस्व शाखालगायत कर्मचारीलाई धन्यवाद दिँदै उनले स्थानीय तहबाट प्रवाह हुने सेवालाई थप सहज, सरल र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकाबाटै PAN सेवा सुरु भएपछि स्थानीय बासिन्दा तथा व्यवसायीलाई समय र खर्च बचत हुनुका साथै करसम्बन्धी कामका लागि टाढा जानुपर्ने झन्झट कम हुने भएको छ।

यसअघि नगरपालिकाबाट नापी तथा मालपोतसम्बन्धी सेवा उपलब्ध हुँदै आएकोमा PAN सेवा सुरु भएसँगै स्थानीय स्तरबाटै प्राप्त गर्न सकिने सेवाको दायरा थप विस्तार भएको छ।


प्रतिकृया दिनुहोस्