काठमाडौं । नागरिकताको प्रतिलिपि लिन आफ्नै जिल्ला पुग्नुपर्ने बाध्यता हटेको छ।
अब नेपालका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै नागरिकता हराएका, झुत्रो भएका, पानीले भिजेर नष्ट भएका वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थाका नेपाली नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्ने जनाएको छ।
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची तथा नेपाल नागरिकता (पाँचौँ संशोधन)नियमावली, २०८३ अनुसार यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
गृह मन्त्रालयको परिपत्रअनुसार काठमाडौं उपत्यकामा नागरिकता प्रतिलिपि लिन आउने सेवाग्राहीको चाप व्यवस्थापन गर्न प्रदेशअनुसार सेवा प्रवाहको व्यवस्था मिलाइएको छ।
जसअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा लिन सक्नेछन्। ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकले सेवा प्राप्त गर्न सक्नेछन्।
नागरिकताको प्रतिलिपि लिन निवेदन दिँदा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेका विवरण भिडाएर
प्रमाणीकरण गरिनेछ।
तर, अभिलेख नभेटिएमा वा नागरिकतामा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याउनुपर्ने भएमा प्रक्रिया थप जटिल हुन सक्ने सूचनामा उल्लेख छ।
त्यस्तो अवस्थामा नागरिकता जारी भएको साविककै जिल्लामा सम्पर्क गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरिएको छ।
































