काठमाडौं । वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ।
राष्ट्र बैंकले आज सूचना जारी गर्दै सम्भावित सुरक्षा जोखिमबाट बच्न वेबसाइट तथा अन्य सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको हो।
सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राष्ट्र बैंकले क्षमायाचना गरेको छ।
सेवा पुनः सञ्चालनमा नआएसम्म बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि आधिकारिक सामाजिक सञ्जाल हेर्न पनि अनुरोध गरिएको छ।
राष्ट्र बैंकले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक ९पीएसओ०, भुक्तानी सेवा प्रदायक ९पीएसपी० र विप्रेषण कम्पनीहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यसैगरी, सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई थप सुरक्षित र सबल बनाउन तथा नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित निकायहरूलाई अपिल गरिएको छ।
पीएचपी प्रविधिमा देखिएको जोखिमका कारण राष्ट्र बैंकले सावधानीस्वरूप सेवा बन्द गरेको हो। सेवा पुनः सञ्चालन हुने समयबारे भने सूचनामा उल्लेख गरिएको छैन।































