Skip
आज : २०८३ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विपत्तिले नटुटोस् नेपाली एकता, रविले दिए दशैँको शुभकामना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ४ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बडादशैँ, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश बोकेको विजयादशमीको अवसरमा लामिछानेले आफ्नो व्यक्तिगत तथा पार्टीका तर्फबाट नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना दिएका हुन्।

यस वर्षको दशैँ विपत्ति र शोकको संवेदनशील परिस्थितिमा मनाउनुपरेको उल्लेख गर्दै उनले विभिन्न विपत्तिमा ज्यान गुमाउने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घरबारविहीन र विस्थापित भएका परिवारको पीडाप्रति संवेदनशीलता प्रकट गरेका छन्।

लामिछानेले सङ्कटको यस घडीमा विजयादशमीले नेपाली समाजमा सकारात्मक ऊर्जा सञ्चार गर्नुका साथै आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। विपत्तिको सामना गर्न सबै नेपाली एकजुट हुनुपर्ने सन्देश दिँदै उनले समाजलाई अझ सुदृढ र एकताबद्ध बनाउने अपेक्षासमेत गरेका छन्।

उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा निस्वार्थ भावले समर्पित हुनुपर्नेमा जोड दिएका छन्। नवदुर्गा भवानीले सबैलाई सद्बुद्धि, शक्ति र जस्तोसुकै सङ्कटसँग जुध्ने अदम्य साहस प्रदान गरून् भन्ने कामना गर्दै उनले राष्ट्र निर्माणमा सकारात्मक सोच र सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएका छन्।

विजयादशमीले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गरोस् भन्दै लामिछानेले सबै नेपालीमा पुनः दशैँको हार्दिक शुभकामना व्यक्त गरेका छन्।


प्रतिकृया दिनुहोस्