४ कार्तिक, काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबीच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत र सशक्त बनाई विविधताबीचको सौहार्द एकतालाई मूर्त रूप प्रदान गर्ने बताएका छन्।
नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना समेत गरेका छन्।
सभामुख अर्यालले जारी गरेको शुभकामना सन्देशमार्फत दसैँको अवसरमा विश्वभरी रहेका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायू एवं निरन्तर प्रगतिको लागि हार्दिक र मंगलमय शुभकामना व्यक्त गरेका छन्।
ुजनताको सार्वभौमसत्ता र राजकीय सत्तालाई अक्षुण्ण राख्दै जनभावना अनुरुप समयसापेक्ष जनमैत्री कानुन निर्माण तथा परिमार्जन गर्दै मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सङ्घीय संसद् सदैव क्रियाशिल र प्रतिवद्ध छ,ु शुभकामना सन्देशमा भनिएको छ।
उनले विजय दशमीको यस सुखद् घडीमा नेपालको संविधानलाई शिरोपर गर्दै राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना पनि गरेका छन्। उनले विजयदशमीले समस्त नेपाली जनहरूमा नवीन् ऊर्जा, सोच, नवप्रवर्तन र राष्ट्र निर्माणको संकल्प पैदा गरोस् भन्ने दृढ विश्वास पनि व्यक्त गरेका छन्।
सभामुख अर्यालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा दसैँलाई दूराचारमाथि सदाचारको जीत र असत्यमाथि सत्यको विजय प्रतिकका रूपमा मनाइने उल्लेख गरेका छन्। यो पर्वले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य मान्यताको सुमार्गमा हिँड्ने प्रेरणा प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरेका छन्।
ऐतिहासिक पहिचान बोकेको बडादसैँ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेसँगै शुभारम्ध गरी सप्तमी, अष्टमी र नवमीसम्म नवदुर्गा भवानीको पूजा आराधना पश्चात दशमीको दिनमा भवानीको प्रसाद स्वरुप मान्यजनहरूको हातबाट पवित्र टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ ।































