दोलखा । दोलखाको तामाकोशी नदी किनारमा मृत अवस्थामा फेला परेका आमा–छोराको पहिचान खुलेको छ। मृत भेटिनेमा मेलुङ गाउँपालिका–१ पवटीकी आस्मा बस्नेत खड्का र उनका १० वर्षीय छोरा आदित्य खड्का रहेका छन्।
काठमाडौंको गौशालास्थित होटलबाट असोज २३ गतेदेखि सम्पर्कविहीन भएका उनीहरूको शव मंगलबार बिहान भीमेश्वर नगरपालिका–५ स्थित भागेखोलानजिक नदी किनारमा फेला परेको थियो। परिवारका सदस्यले पहिचान गरेपछि मृतकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
तीन वर्षपछि पोर्चुगलबाट नेपाल आएका आस्माका श्रीमान् दिनेश खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।
आस्माका आफन्तले विगतमा पारिवारिक तनाव रहेको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। प्रहरीले भने घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ।
आमा–छोराको मृत्युको कारण पोस्टमार्टम प्रतिवेदन र प्रहरी अनुसन्धानपछि मात्रै स्पष्ट हुने जनाइएको छ। घटनाले परिवार र आफन्तमा गहिरो पीडा थपेको छ।































