लकाठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ।
बिहीबारका लागि निर्धारित मतदान मतपत्र छपाइ र उम्मेदवारीको वैधता परीक्षणमा ढिलाइ भएपछि आजका लागि सारिएको हो।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै मतदान केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ। मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ भने त्यसलगत्तै मतगणनासुरु गर्ने तयारी छ।
मतदानपछि मतपेटिकाहरू कांग्रेस केन्द्रीय कार्यालय सानेपा लगिनेछन्। त्यहाँ १२ देखि १३ स्थानमा एकैपटक मतगणना गर्ने तयारी गरिएको छ। मतगणना प्रक्रियाका लागि पाँच सय कानुन व्यवसायी तयारी अवस्थामा राखिएको जनाइएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार महाधिवेशनमा ८५० जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारीको वैधता परीक्षणमा समय लागेपछि मतपत्र छपाइ बिहीबार साँझ मात्र सकिएको हो।
कुल २३ प्रकारका मतपत्र तयार गरिएको छ। आवश्यक एक लाख ८० हजार मतपत्रको सट्टा समितिले दुई लाख प्रति छपाइ गरेको जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सम्पन्न भएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिने बताएका छन्।






























