काठमाडौं । शरद् ऋतुमा ३१ हिमाल आरोहणका निम्ति ७८८ जनाले अनुमति लिएका छन् । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ९१ टोलीका ७८८ आरोहीले अनुमति लिएका पर्यटन विभागले जनाएको छ।
३१ हिमाल आरोहणका निम्ति ५८२ पुरुष र २०६ महिलाले अनुमति लिएका विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिए । आरोहण अनुमति प्रदान गरेबापत विभागले उनीहरूबाट २४ करोड ७२ लाख सात हजार ६०१ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
मनास्लु हिमाल आरोहणका निम्ति मात्र ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार रुपैयाँ १८९ रोयल्टी संकलन गरेको छ ।
धौलागिरि–१ आरोहणका निम्ति पाँच टोलीका ३६ जनाले अनुमति लिएका छन् । उनीहरूबाट विभागले ८२ लाख ४२ हजार ५० रोयल्टी संकलन गरेको छ ।
यस्तै, हिम्लुङ हिमालका निम्ति तीन टोलीका ३४ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट २० लाख ८७ हजार ८०० रुपैयाँ रोयल्टी संकलन गरिएको विभागले जनाएको छ ।
आमादब्लम हिमाल आरोहणका निम्ति दुई टोलीका १९ जनाले अनुमति लिएका छन् । उनीहरूबाट विभागले २९ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम ९लाङचेनेल०, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक ९धाम्पुस०, पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमाल आरोहणका निम्ति अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।
यी सबै हिमाल आरोहण गर्न ७० देशका ७८८ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ११८ जना छन् । रुसका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्यान्डका २५, नेपालका २३, स्वीट्जरल्यान्डका १६, स्पेनका १६, भारतका १८, इटलीका २३, जापानका २५ जनाले आरोहण अनुमति लिएका छन् ।































