काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रले विधान संशोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएपछि उपसभापतिका आकांक्षीसमेत बढेका हुन्।
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाइएको छ। त्यस्तै, उपसभापतिको संख्या २ बाट बढाएर ४ पुर्याइएको छ।
रिजालसँगै उपसभापतिका लागि यसअघि ज्ञानेन्द्र कार्की, विनोद चौधरी, भीष्मराज आङदेम्बे, गोविन्द भट्टराई, धनराज गुरुङ, सुरेन्द्र पाण्डे र जीवन परियारले उम्मेदवारी घोषणा गरिसकेका छन्।
वर्तमान उपसभापति पुष्पा भुसालले महिला उपसभापतिमा प्रतिस्पर्धा गर्ने बताएकी छन्। कांग्रेस प्रवक्ता देवराज चालिसे र नेता चन्द्र भण्डारीले पनि उपसभापतिमा दाबी गरेका छन्।































