२० असोज, काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको छ।
विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले भेटका क्रममा भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, आर्थिक सुधार, बिमा तथा सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत जुटाउने विषयमा छलफल गरेका छन्।
बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष बाङ्गाले पुनर्निर्माणमा विश्व बैंकबाट महत्वपूर्ण सहयोग हुने प्रतिबद्धता जनाएका छन्।
उनले नयाँ सरकारले अघि सारेका नीतिगत तथा संस्थागत सुधारको प्रशंसा गर्दै पूर्वाधारमा लगानी बढाउन र स्वदेशमै रोजगारी सिर्जनामा जोड दिएका छन्।
एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमसहित विकास साझेदारसँग सहकार्य गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्ने नयाँ पहलसमेत विश्व बैंकले अघि बढाउने बाङ्गाले बताएका छन्।
विश्व बैंकका नेपाल राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेट हो।
भेटमा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत अधिकारी सहभागी थिए।






























