Skip
आज : २०८३ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धैर्य र एकताका साथ विपद्को सामना गर्नेछौँ : प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ११ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण उत्पन्न विपद्को सामना गर्न सरकार पूर्ण रूपमा परिचालित रहेको बताएका छन्।

उनले संकटको यस घडीमा नागरिकलाई धैर्य, संयम र एकताका साथ अघि बढ्न आग्रह गरेका छन्।

असोज ८ गतेदेखि हालसम्म भएका मनसुनजन्य घटनामा म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको उनले जानकारी समेत दिएका छन् ।

पाँच जना घाइते भएका छन् भने पाँच जना अझै बेपत्ता छन्। मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना प्राप्त भएकाले त्यसबारे विवरण संकलन भइरहेको उनले बताएका छन्।

उनका अनुसार बाढी, पहिरो, डुबान र चट्याङलगायतका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन्।

गाउँदेखि सहरसम्म डुबानमा परेका छन् भने सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायतका पूर्वाधारमा क्षति पुगेको छ।

वर्षा र हावाहुरीका कारण धान, तरकारीलगायत किसानका विभिन्न बालीमा समेत क्षति पुगेको छ।
प्रधानमन्त्री शाहले विपद्को पूर्वानुमानसँगै सरकारले समयमै पूर्वसावधानी अपनाएको बताएका छन्।

असोज ९ देखि १२ गतेसम्म भारी वर्षा तथा हावाहुरीको सम्भावनाबारे सूचना पाएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कमान्ड पोस्ट सक्रिय पारिएको, निरन्तर सूचना प्रवाह गरिएको तथा रातिको यातायात र विद्यालय बन्द गर्नेलगायत निर्णय गरिएको उनले बताएका छन्।

७७ वटै जिल्ला कमान्ड पोस्टसमेत सक्रिय बनाइएको थियो।

पूर्वसूचनाका कारण हिमाली जिल्लामा पदयात्रामा रहेका यात्रुहरू सुरक्षित फर्कन सकेको र विद्यार्थीहरूलाई समेत जोखिमबाट जोगाउन सकिएको शाहको भनाइ छ।

कुनै नागरिक संकटमा परे तत्काल उद्धारका लागि सुरक्षा निकायहरू तयारी अवस्थामा रहेको उनले बताएका छन्।

बेपत्ता नागरिकको खोजी तथा बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारका लागि सुरक्षाकर्मीहरू निरन्तर परिचालन गरिएको छ।

प्रभावित परिवारका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ भने जोखिमबारे नागरिकलाई जानकारी गराउन विभिन्न माध्यमबाट सूचना प्रवाह तथा स्थलगत माइकिङ भइरहेको छ।

घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिएको पनि शाहले बताएका छन्।

सडक पूर्वाधारतर्फ नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ।

पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित काठमाडौं जोड्ने विभिन्न सडकमा बाढी तथा पहिरोका कारण अवरोध भएको छ।

भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनः क्षति पुगेको तथा कालीगण्डकीको पक्की पुलसमेत बगेको शाहले बताएका छन्।

क्षतिग्रस्त सडक मर्मत गरी यातायात सुचारु गर्न सरकार तीव्र रूपमा काम गरिरहेको उनको भनाइ छ।

विद्युत् क्षेत्रमा समेत बाढीको ठूलो प्रभाव परेको छ। कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ।

प्रसारण लाइनका टावर ढलेपछि ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना पूर्ण रूपमा बन्द भएका छन्।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै थप ६९५ दशमलव २ मेगावाट क्षमताका आयोजनाको उत्पादन सुरक्षात्मक रूपमा रोकिएको छ।

विद्युत् आपूर्ति पुनःस्थापित गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

ठूला नदीमा पानीको बहाव बढेपछि केही स्थानमा आवागमनसमेत रोकिएको छ। महाकाली नदीको जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।

सुरक्षाका लागि पुलको दुवैतर्फ सवारीसाधन सञ्चालन रोकिएको छ। सेती, नारायणी र कमला नदीमा पानीको सतह उच्च रहेकाले तटीय क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ भने कुलेखानी क्षेत्रमा पनि यातायात रोकिएको छ।

यसअघि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिबाट नागरिकलाई सुरक्षित रूपमा पुनःस्थापित गर्ने काम जारी रहेकै अवस्थामा अर्को विपद्को सामना गर्नुपरेको शाहले बताएका छन्।

प्रधानमन्त्री शाहले जोखिम अझै नटरेको भन्दै नदी तटीय र पहाडी क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकटमा परे शुल्क नलाग्ने १२३४ नम्बरमा सम्पर्क गर्न उनले अनुरोध गरेका छन्।

विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने र कालोबजारी गर्नेहरूमाथि सरकारले निगरानी गरिरहेको पनि शाहले बताएका छन्।

पीडितलाई थप पीडा दिने गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै उनले संकटका बेला फैलाइने भ्रामक प्रचारप्रति सचेत रहन आग्रह गरेका छन्।

“हामी धैर्य, संयम र एकताका साथ यो विपद्को पनि सामना गर्नेछौँ,” प्रधानमन्त्री शाहले भनेका छन्।

 

 


प्रतिकृया दिनुहोस्