Skip
आज : २०८३ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नारायणीको पुलमा ठूला गाडी चलाउन नपाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ११ गते


Advertisement

११ असोज, नवलपरासी । नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो केही समयका लागि पुलमा पूर्ण रूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अहिले मोटरसाइकललाई मात्र छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए । पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको उनले बताए ।

सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमाथि रोकिएर पैदलयात्रीलाई तस्बिर, श्रव्यदृश्य सामग्री खिच्न रोक लगाइएको पण्डितले जानकारी दिए ।

उनका अनुसार, नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकल बाहेकका सवारीसाधनलाई गैँडाकोटमा र नवलपुरतर्फ आउने सवारीसाधनलाई चितवनको नारायणघाटमा रोकिएको छ ।

नदीमा पानीको बहाव घटेपछि सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न दिइने प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

देवघाटस्थित जलमापन केन्द्रका अनुसार, दिउँसो १ः५० बजे नारायणी नदीमा पानीको सतह ११.९१ मिटर पुगेको थियो ।

नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ । केन्द्रमा सात दशमलव तीन मिटर पानीको सतहलाई चेतावनीको तह र नौ मिटरलाई खतराको तह मानिन्छ ।

नारायणीमा पानीको बहाव बढ्दै गएपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन् ।


प्रतिकृया दिनुहोस्