९ असोज, काठमाडौ । लगातारको वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड सञ्चालनमा आएको छ।
आज बिहान तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट ढुंगासहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। सडक डिभिजनसँगको समन्वयमा पहिरो हटाएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
सडक खुलेसँगै बीच बाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। सिद्धबाबा क्षेत्र पहिरो तथा ढुंगा खस्ने उच्च जोखिममा रहेको र यसअघि पनि पटक–पटक सडक अवरुद्ध हुँदै आएको प्रहरीले जनाएको छ।
त्यसैगरी शुक्रबार बिहान तिनाउ गाउँपालिका–५ को चरचरे र जोरधाराबीच सडक माथिबाट पहिरो खसेर केही समय यातायात प्रभावित भएको थियो।
सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, स्याङ्जा, पोखरा, बेनी तथा मुस्ताङलगायतका क्षेत्रमा सवारीसाधन सञ्चालन हुने गर्छन्। बुधबार रातिदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ।
यसैबीच भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै बुटवल–पाल्पा सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोकिएको छ। असोज ८ गतेदेखि १२ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द रहने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिएका छन् ।































